काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिमा अनुबन्ध भएका स्कटल्यान्डका बलर मार्क वाट नेपाल आइपुगेका छन् । शनिबार (कात्तिक २९) उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेलगायत प्रतिनिधिले स्वागत गरे ।
शुक्रबार (कात्तिक २८) राति अफगानिस्तान पूर्वकप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका थिए । भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका थिए । अब अस्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्र कर्णाली याक्सको क्लोज क्याम्पमा आबद्ध हुन बाँकी छन् ।
२९ वर्षीय वाटले पहिलोपटक एनपीएल खेल्न लागेका हुन् । उनले स्कटल्यान्डका निम्ति ट्वान्टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । २९४ रन जोडेका छन् । एकदिवसीयमा ८२ खेल खेल्दा ११० विकेट लिएका छन् ।
गत वर्ष मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपीनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरिएको थियो ।