काठमाडौं । विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण खेल्न अमेरिकाका अलराउन्डर शुभम् रन्जने नेपाल आइपुगेका छन् । ३१ वर्षीय उनलाई शनिबार (कात्तिक २९) विराटनगरका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
उनले ४८ ट्वान्टी–२० खेल खेल्दा तीन अर्धशतकसहित ६५४ रन बनाएका छन् । २२ विकेट पनि लिएका छन् ।
उनी विराटनगरमा अनुबन्ध हुने छैटौँ खेलाडी हुन् । टोलीले यसअघि न्युजिल्यान्डका मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस र मर्चेन्ट डी लाङ, अस्ट्रेलियाका साम हिजलेट तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको थियो ।
पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । टोलीले मिनि अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको थियो ।
एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदै छ । विराटनगरले मंसिर २ गते कर्णाली यक्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।