काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा मधेस प्रदेशको प्रतिनिधित्व गरिरहेको टिम हो, जनकपुर बोल्ट्स । सँगै पहिलो संस्करणको विजेता पनि ।
जनकपुरको स्वामित्व ड्रिम स्पार्ट्ससँग छ । राष्ट्रिय टिमकै नियमित सदस्य आसिफ सेख यो टिमका मार्की खेलाडी हुन् । तर, जनकपुरले कप्तानी जिम्मेवारी भने आसिफलाई दिएको छैन । यस टिमले पहिलो संस्करणको उपाधि उचाल्दा अनिल साहलाई नियमित कप्तान बनाएको थियो । तर, प्रतियोगिताका दौरान अनिल घाइते हुँदा आसिफले नै टिमको यो जिम्मेवारी सम्हालेका थिए ।
प्रतियोगिताको पहिलो संस्करण जित्दा जनकपुर नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा थियो । तर, यसपटक भने जनकपुरले दासानायकेको साथ पाउने छैन । साविक विजेताले दोस्रो संस्करणका निम्ति वेस्ट इन्डिजका शिवनारायण चन्दपाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको थियो ।
जनकपुरले प्रतियोगिताका निम्ति भित्र्याएका चर्चित नाममा दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल हुन् । यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् । यस्तै, पहिलो संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ ।
सञ्जय कृष्णमूर्ती (अमेरिका), निकोल लोफ्टी इटोन (नामिबिया) र लहिरु हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य नाम हुन् । विदेशी खेलाडीमा यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसम थियो । तर, गत सिजन प्रतियोगिताको उपाधि जित्दा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका निसम यसपटक मधेसको यो टोलीमा छैनन् ।
जनकपुरले पहिलो संस्करणका मार्की र कप्तानसँगै ललितनारायण राजवंशी, सुभ कशांकार, तुलबहादुर थापा, किशोर महत्तो र रुपेश सिंहलाई रिटेन गरेको थियो । यस्तै, जनकपुरले अक्सनबाट सचिन भट्ट, आदीत्य महता, मयन यादव र विकाश आग्रीलाई भित्र्याएको थियो ।
हेर्नलायक खेलाडी
घरेलु खेलाडीबाटै दोस्रो संस्करणमा पनि उपाधि दाबेदार बनेको जनकपुरमा आसिफ, ललित र अनिल जस्ता चर्चित नाम छन् । अझ अनुभवी स्पिनर इमरान ताहिरको आगमनले यो टिमलाई झनै बलियो बनाएको छ । ताहिर नै जनकपुरको ‘प्लेयर्स टू वाच’मा पर्छन् ।
उमेरले अर्धशतक छुन चार वर्षमात्रै बाँकी रहेका ताहिरको लय भने अझै उच्च छ । उनले यसै वर्ष सम्पन्न क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा गुयना अमाजोन वारियर्सबाट १२ खेलमा २३ विकेट लिएका थिए । दक्षिण अफ्रिकाबाट २० टेस्ट, १०७ एकदिवसीय र ३८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले कुल २९३ विकेट लिएका छन् ।
गत वर्ष जनकपुरले उपाधि जित्दा लिग चरणमा सातमध्ये पाँच खेल जित्दै प्लेअफ यात्रा तय गरेको थियो । जनकपुरले लिग चरणमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग क्रमशः ७२ र ३२ रनको हार बेहोरेको थियो । यसबाहेक, अन्य खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको, कर्णाली याक्सविरुद्ध पनि आठ विकेटको, पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको, लुम्बिनी लायन्सविरुद्ध एक रनको र काठमान्डु गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
यस्तै, प्रतियोगिताको पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटको हार बेहोरेको जनकपुरले दोस्रो क्वालिफायरमा भने कर्णालीविरुद्ध दुई विकेटको जित निकालेको थियो । लिग र क्वालिफायर्समा दुईपटक पराजित भएको जनकपुरले फाइनलमा भने सुदूरपश्चिलाई नै पाँच विकेटले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।
