site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल प्रिमियर लिग : ४० सीसीटीभी, दुई हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

उद्घाटन खेलमा आज (मंसिर १) साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजविरुद्ध प्रतिस्पर्धा गर्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ ।

प्रतियोगिताको सुरक्षाका निम्ति करिब ४० सीसीटीभी क्यामेराबाट समेत निगरानी गरिने प्रहरीले जनाइएको छ ।

“अरू सपोर्टबाहेक (ट्राफिक, बम डिस्फोजल) करिब १५ सय सुरक्षाकर्मी परिचालन गरेका छौँ । हामीले प्रहरीको कन्ट्रोल रुमबाटै निगरानी गर्नका निम्ति ४० वटा क्यामेरा समेत जडान गरेका छौँ । प्रहरीको सहयोगमा सशस्त्र सधैँ नै हुने गर्दछ,” जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बाह्रखरीसँग भने ।

प्रतियोगिता यही मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो प्रतियोगिता समेत हो ।

एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा गरिनेछ । लिगका नौ खेल दिउँसो खेलाइनेछ । २३ खेल डे–नाइट अर्थात् फ्लडलाइटमा हुने क्यानले जनाएको छ ।

एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन् ।

प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलोकै आठ टिम प्रतिस्पर्धामा छन् । ती आठ टिम जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स हुन् । 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्