काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल्ने आठमध्ये कोसी प्रदेशलाई प्रतिनिधित्व गर्ने टिम हो, विराटनगर किंग्स । पूर्वी नेपालको सान बनेको यो टिम एमएडी ड्रिम स्पोटर्स प्रा.लि.को स्वामित्वमा रहेको छ ।
विराटनगर यो संस्करण नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरिसकेका पुबुदु दासानायकेको नेतृत्वमा मैदानमा देखिनेछ ।
विराटनगरमा सन्दीप लामिछाने मार्की खेलाडी हुन् । टिमले कप्तानको जिम्मेवारी पनि सन्दीपलाई नै दिएको छ ।
विराटनगरले प्रतियोगिताको निम्ति ६ विदेशी खेलाडी भित्र्याएको छ । जसमा फाफ डू प्लेसिस चर्चित खेलाडी हुन् । डू प्लेसिस दक्षिण अफ्रिाकाका पूर्वकप्तान समेत हुन् ।
दायाँ हाते ब्याटर उनले टी–२० मा ११ हजार ९०६ रन बनाएका छन् । डू प्लेसिसले टेस्ट क्रिकेटमा चार हजार १६३ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा पाँच हजार ५०७ रन जोडेका छन् ।
यस संस्करणमा विराटनगरले न्युजिल्यान्डका ओपनर मार्टिन गप्टिललाई निरन्तरता दिएको छ । उनीहरूबाहेक टिमले भित्र्याएको विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका मर्चान्ट डे लांगे, अस्ट्रेलियाका साम हेजलिट, स्कटल्यान्डका जर्ज मुुन्से र अमेरिकाका सुवम राञ्जने छन् ।
विराटनरले कप्तान सन्दीपसँगै विकेटकिपर लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई रिटेन गरेको छ ।
टिमले अक्सनबाट सूर्य तामाङ, नारायण जोशी, साहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई अनुबन्ध गरेको थियो ।
त्यसैगरी, ट्यालेन्ट हन्टबाट टोलीमा आयुष न्यौपानेलाई अनुबन्ध गरिएको छ ।
हेर्नलायक खेलाडी
फाफ र गप्टिलजस्ता विस्फोटक ब्याटरको उपस्थितिले ब्याटिङतर्फ विराटनगर प्रतियोगिताकै सबैभन्दा बलियो टोली बनेको छ । गप्टिल र फाफ आधुनिक क्रिकेटको सबैभन्दा परिचित नामहरूमध्ये एक हुन् । यी दुवै इनिङको शीर्षक्रममा आफ्नो विस्फोटक ब्याटिङ क्षमताको निम्ति परिचित छन् ।
सन् २०१५ को एकदिवसीय विश्वकपमा गप्टिलले अविजित २३७ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । एकदिवसीय विश्वकपमा यो नै हालसम्मको उच्च व्यक्तिगत स्कोर हो ।
उनले यसअघि एनपीएलको पहिलो संस्करणमा पनि विराटनगर किंग्सको प्रतिनिधित्व गरेका थिए । उनले पहिलो संस्करणमा ६ खेल खेल्दा एक अर्धशतकसहित १३७ रन बनाएका थिए । यस सिजन विराटनगरबाट हेर्नलायक खेलाडीमा यिनै खेलाडी पर्छन् । यस्तै, पहिलो पटक एनपीएल खेल्न लागेका फाफले दक्षिण अफ्रिकाको कप्तानी भूमिका निभाइसकेका छन् । उनले दक्षिण अफ्रिकाबाट ५० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । जसमा एक शतक र १० अर्धशतकसहित एक हजार ५२८ रन बनाएका छन् ।
नेपाली खेलाडीमध्ये कप्तान सन्दीप र लोकेश यस टिमको हेर्नलायक खेलाडीमा पर्छन् । गत सिजन सन्दीपले सात खेलमा सात विकेट लिएका थिए । आक्रामक ब्याटिङका निम्ति परिचित लोकेशले सात खेलमा एक अर्धशतकसहित १३१ रन बनाएका थिए ।
विराटनगरले अघिल्लो सिजन छैटौँ स्थानमा रही लिग टुंग्याएको थियो । समूह चरणमा सीमित रहेकोे अंक मात्र जोड्न सक्यो । सात खेल खेल्दा ६ अंक बनाएको थियो । प्रतियोगितामा विराटनगरले लुम्बिनीविरुद्ध दुई विकेट र चितवन राइनोजविरुद्ध पाँच रनको जित निकालेको थियो ।
जनकपुरसँग आठ विकेट, काठमान्डु गोर्खाजसँग एक विकेटको हार व्यहोर्दा सुदूरपश्चिमसँग ९० रन र कर्णालीसँग सात रनले पराजित भएको थियो । विराटनगरले पोखरासँग भने सुपर ओभरमा हार बेहोरेको थियो ।
गत सिजनको प्रदर्शन निराशाजनक रहे पनि विराटनगर यसपटक भने चर्चित विदेशी खेलाडीसहित प्रतियोगितामा आफ्नो छवि सुधार्ने लक्ष्यमा देखिन्छ ।