site stats
बाह्रखरी :: Baahrakhari
खेल
काठमाण्डूले जित्यो टस, जनकपुरले पायो ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजविरुद्ध पहिलो बलिङ गर्ने भएको छ ।

सोमबार अपारह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलका निम्ति भएको टस जितेर काठमाण्डूका कप्तान करण केसीले फिल्डिङको निर्णय गर्दै जनकपुरलाई ब्याटिङको निम्तो दिए ।

एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि, जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमाण्डूविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

पहिलो संस्करणको च्याम्पियन बन्दा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएको थियो । यता, काठमाण्डूले पहिलो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने यो ४ बजेदेखि सुरु हुनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो खेलसमेत हो ।

एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका नौ खेल दिउँसो र २३ खेल डे–नाइट अर्थात फ्लडलाइटमा हुने क्यानले जनाएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन् ।

प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिम प्रतिस्पर्धामा छन् । जसमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स छन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्