site stats
बाह्रखरी :: Baahrakhari
देश
भयावह बन्दै पाठेघरको मुखको क्यान्सर : रोकथामको लक्ष्य ठूलो, सेवामा पहुँचको चुनौती

काठमाडौं । नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरूमा देखिने प्रमुख क्यान्सर हो । यसबाट मृत्यु हुनेको संख्या पनि सबैभन्दा बढी छ । रोकथाम गर्न सकिने भए पनि नेपालमा दैनिक ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ । चार जनाले ज्यान गुमाउने गरेको तथ्यांक छ ।

नेपालले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्य लिएको छ । यसका लागि ९० प्रतिशत किशोरीहरूलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउने, ३० वर्षमाथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र क्यान्सर निदान भएका ९० प्रतिशत महिलाको उपचार गर्ने रणनीतिक लक्ष्य छ ।

लक्ष्य प्राप्तिका लागि गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोप समावेश गरी ९४ प्रतिशत किशोरीहरूलाई पहिलोपटक निःशुल्क खोप सेवा प्रदान गरिएको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।

“यस वर्षको फागुनमा पनि विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरूलाई एचपीभी खोप दिने कार्यक्रम छ,” डा. गौतमले भने, “साथै, स्थानीय तहबाट सञ्चालन हुने शिविर र तालिमप्राप्त स्वास्थ्यकर्मी भएका स्वास्थ्य संस्थामा ३० वर्ष माथिका महिलाको निःशुल्क स्क्रिनिङ कार्यक्रम पनि सञ्चालनमा छ । सरकारले क्यान्सरका बिरामीलाई उपचारमा सहुलियतसमेत दिएको छ ।”

पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसको संक्रमणबाट हुन्छ । यसमध्ये ७० प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीको १६ र १८ प्रजातिका कारण हुन्छ । समयमै पत्ता लगाई उपचार गरेमा यो क्यान्सर रोकथाम गर्न सकिन्छ । यसका लागि भीआईए, एचपीभी डीएनए र प्याप स्मेयरलगायत परीक्षण उपलब्ध छन् ।

नेपालमा क्यान्सरको अवस्था
विश्वभर महिलाहरूमा देखिने यो चौथो प्रमुख क्यान्सर हो । सन् २०२२ मा मात्र यसका कारण करिब साढे तीन लाख महिलाले ज्यान गुमाएका थिए ।

ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२ को प्रतिवेदनअनुसार, नेपालमा वार्षिक दुई हजार १६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ । यस्तै, एक हजार ३१३ जना महिलाको यसैका कारण मृत्यु हुने गरेको छ ।

यस हिसाबले नेपालमा नयाँ बिरामी पत्ता लाग्ने दर १४.२ प्रतिलाख र मृत्युदर ८.७ प्रतिलाख छ । क्यान्सर उन्मूलन गर्न हरेक देशले यो दर प्रति एक लाख महिलामा चारभन्दा कम कायम राख्नुपर्छ ।

स्क्रिनिङ सेवा : घोषणा निःशुल्क, छैन सबैको पहुँचमा
नेपालको संविधानले महिलाको प्रजनन स्वास्थ्यलाई मौलिक हक मानेको छ । सोही आधारमा जनस्वास्थ्य सेवा ऐन, २०७५ ले स्तन र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङलाई आधारभूत स्वास्थ्य सेवाको रूपमा तोकेको छ । यो सेवा प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्करूपमा प्रदान गरिने व्यवस्था छ ।

तर, सबै स्थानीय तहमा स्क्रिनिङ सेवा सहजै उपलब्ध छैन । कतिपय स्थानीय तहले सेवा दिए पनि आफ्नो वडाका महिलालाई मात्र निःशुल्क गर्ने र अन्यसँग शुल्क लिने गरेका छन् ।

ललितपुर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन सरकारले आफूहरूलाई निःशुल्क सामग्री नदिएकाले शुल्क लिनुपरेको बताउँछन् । उनले भने, “सरकारले निःशुल्क दिए हामीले शुल्क लिने कुरै आउँदैन । महानगरले दिने सामग्री निकै न्यून हुन्छ । हामीले वडाकै अग्रसरतामा व्यवस्था गरेका छौँ । घर नम्बर भएका (वडाका स्थायी) महिलाको परीक्षण निःशुल्क छ, बाहिरकासँग १५ सय रुपैयाँ लिन्छौँ ।”

यसरी सरकारले ‘निःशुल्क’ घोषणा गरेको सेवामा समेत सर्वसाधारणको सहज पहुँच नहुँदा महिलाहरू स्क्रिनिङबाट वञ्चित भइरहेका छन् ।

११ प्रतिशतको मात्रै स्क्रिनिङ
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार, ११ प्रतिशत महिलाले मात्रै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गराएका छन् ।

यसका प्रमुख चुनौतीमा सचेतनाको कमी, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्ति र नियमित कार्यक्रमको अभाव, कमजोर डेटा व्यवस्थापन, सामाजिक सांस्कृतिक संकोच र आर्थिक अवस्था रहेका छन् । परिणामस्वरूप धेरै महिलामा रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने र मृत्यु दरउच्च रहने गरेको छ । रोगको निवारणका लागि समयमै स्क्रिनिङ, एचपीभी खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण अनिवार्य छ ।

कानुनी व्यवस्था अनुरूप, सेवा प्रवाह र व्यवस्थापनका लागि २०७९ माघ १६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ‘पाठेघरको मुखको क्यान्सर रोकथाम सम्बन्धी निर्देशिका, २०८०’ जारी गरिएको छ । सो निर्देशिकाअनुसार उपलब्ध भएसम्म एचपीभी डीएनए विधिबाट, नभएमा भीआईए विधि वा गुणस्तरयुक्त प्याप टेस्टबाट महिलाको स्क्रिनिङ गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार सरकारले ११ जिल्लाका १२९ स्थानीय तहमा एचपीभी डीएनए स्क्रिनिङ कार्यक्रम लागु गर्ने योजना बनाएको छ ।

विश्व स्वास्थ्य संगठनको ७८औँ महासभाले नोभेम्बर १७ लाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रूपमा घोषणा गरेअनुसार, यस वर्ष पहिलोपटक सोमबार “आजैदेखि लागौँ : पाठेघरको मुखको क्यान्सर निवारण गरौँ” भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्