site stats
बाह्रखरी :: Baahrakhari
खेल
जब पहिलोपटक त्रिविले प्यारापिटमा दर्शक र फ्लडलाइटको अनुभव गर्‍यो

काठमाडौं । गत वर्ष नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण हुँदा त्रिवि ‘क्रिकेट मैदान’ थियो । एक वर्षपछि त्यही स्थान अहिले ‘क्रिकेट रंगशाला’ बनेको छ । मैदान र रंगशाला छुट्याउने मानक के हुन् भन्ने कौतहला हुनु स्वाभाविक नै हो । एउटा सामान्य मैदानलाई रंगशालाको सम्मान दिने मानकमा पर्छन्, व्यवस्थित प्यारापिट र फ्लडलाइट । सुविधासम्पन्न रंगशाला बन्न अरु धेरै आवश्यकता होलान् । त्रिवि रंगशालाले यी सबैलाई अहिले नै पूरा गर्दैन पनि । तर, मैदानको स्वरुप सामान्य नै भए पनि त्रिविको क्रिकेट मैदान अब रंगशालामा परिणत भएको छ ।

यही रंगशालामा सोमबार (मंसिर १) एनपीएल दोस्रो संस्करणको ऐतिहासिक खेल आयोजना भयो  । जहाँ प्रतिस्पर्धामा थिए, साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं उपत्यकाको प्रतिनिधित्व गरिरहेको टोली काठमाण्डू गोर्खाज । 

र, यो ऐतिहासिक खेलको साक्षी बन्न १० हजारभन्दा धेरै समर्थक त्रिवि रंगशालामा उपस्थित रहे । खेतका गह्रा र कान्लामा सिमलको काठबाट बनेको ब्याट बोक्दै क्रिकेट सपना बुनेका नेपाली खेलाडीले सोमबार पहिलो पटक देशमै प्यारापिटमा समर्थक देखे । फ्लडलाइटको उज्यालोमा प्रतिस्पर्धा गरे । 

मधेसको सान बनेको जनकपुर र संघीय राजधानीको प्रतिनिधित्व गरिरहेको काठमाण्डूबीचको प्रतिस्पर्धा नेपाली क्रिकेट इतिहासमै फ्लडलाइट र प्यारापिटमा आयोजना भएको पहिलो खेल बन्यो । क्रिकेटकै भाषामा भन्नुपर्दा नेपालको घरेलु लिगले पहिलो पटक ‘डे–नाइट’ क्रिकेटको अनुभव गर्‍यो । १० हजार दर्शकसामु नतिजा काठमाण्डूले बाजी मार्‍यो । 

“यति धेरै समर्थकमाझ डे–नाइट क्रिकेटको यो अनुभव उत्कृष्ट थियो । फ्लडलाइटमा भएको पहिलो खेल जित्नु भनेको मेरो लागि ऐतिहासिक पल हो,” जितपछि काठमाण्डूका कप्तान तथा मार्की खेलाडी करण केसीले अनुभव सुनाए । 

करणलाई नै प्रश्न थियो, “पहिले मैदानमा खेल्दा र अहिले रंगशालामा खेल्न पाउँदा फरक के पाउनु भयो ?” 

जवाफमा करणले हाँस्दै भने, “अलि बढी चिसो भयो ।” 

Karan-KC-1763394852.jpg
यही ऐतिहासिक क्षणबारे जनकपुरका कप्तान अनिल साहले भने, “पहिलोपटक नेपालमा डे–नाइट खेल खेलिरहेका छौँ । त्यो पनि टीयूमा । सबैको सपना थियो, त्यो पूरा भयो ।”

जनकपुरको फितलो ब्याटिङमा आसिफको अर्धशतक
टस हारेपछि फिल्डिङ रोज्ने कप्तानको निर्णयलाई बलरहरूले सही सावित गर्दा काठमाण्डूले जनकपुरलाई १३० रनको मध्यम योगफलमै रोकेको थियो । जनकपुरले २० ओभरमा पाँच विकेट गुमायो ।

ब्याटिङमा निम्त्याइएको जनकपुरबाट ओपनर आसिफ सेखबाहेकको प्रदर्शन उल्लेखनीय बन्न सकेन । क्रिजको एक एन्डबाट अर्धशतकीय इनिङ खेलेका आसिफ ५४ रन बनाएर पभेलियन फर्किए । गत वर्ष च्याम्पियन बन्दा जनकपुरको महत्त्वपूर्ण सदस्य रहे पनि आसिफको यो प्रतियोगितामै पहिलो अर्धशतक हो । आसिफले पहिलो खेलमा ४१ बलको सामना गर्दा ६ चौका र एक छक्का प्रहार गरे । पहिलो विकेट ३४ रनमा गुमाएको जनकपुरले कुनै पनि समय बलियो साझेदारी बनाउन सकेन । 

NPL_janakpur_kathmandu-(19)-1763385849.jpg
७८–५ को स्थितिबाट मध्यक्रम ब्याटर मयन यादव र लहिरु समराकुनले ४८ रनको साझेदारी गरे पनि गतिलो फिनिसिङ दिन सकेनन् । मयनले ३४ र समराकुनले २२ रन थपे । अरु खेलाडी दोहोरो अंकसम्म पनि पुग्न सकेनन् । कप्तान अनिलकुमार साह दुई बल खेल्दा ‘डक’ भए । ओपनर लहिरु मिलान्थाले सात रन जोडे । रुपेश सिंह चार रनमा अविजित रहँदा जान निकोल लोफ्टी इटोन र सञ्जय कृष्णमुर्थीले समान दुई रन थपे । जनकपुर १३० रनमै रोकियो । 

जनकपुरलाई मध्यम योगफलमा रोक्न काठमाण्डूका मिलिन्द कुमारले तीन विकेट लिए । चार ओभरमा १५ रनमात्रै खर्चिदा उनको इकोनोमी रेट चारभन्दा तल रह्यो ।

१३१ रनको मध्यम लक्ष्य पछ्याएको काठमाण्डूका ब्याटरले कुनै पनि समय दबाब महसुस गरेनन् । ओपनिङ जोडी आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले ८.१ ओभरमा ७० रनको आक्रामक सुरुआत दिलाउँदा काठमाण्डूको ‘रन चेज’ झनै सहज बन्यो । अर्धशतक बनाउन चार रनलेमात्र चुकेका चाल्र्सवर्थले २०० को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ४६ रन बनाए । यसक्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरे । अर्का ओपनर आकाशले ३९ रन थपे । मिलिन्द कुमारले १९ र विकेटकिपर ब्याटर जोन सिम्पसनले १३ रन जोडे । काठमाण्डूको जितसम्म अविजित रहेका गेर्हार्ड इरास्मस र आदील आलमले क्रमशः एक र आठ रन बनाए । काठमाण्डूले जनकपुरको लक्ष्य पूरा गर्दा १८ ओभरमा पाँच विकेटमात्र गुमाएको थियो ।

बलिङतर्फ पनि जनकपुरको प्रदर्शन फितलो रह्यो । कप्तान अनिल साहसँगै किशोर महतो, ललित राजवंशी, इटोन र कृष्णमुर्थीले समान एक विकेट लिए ।

“हाम्रो लागि यो उत्कृष्ट सुरुआत हो । हाम्रो स्थानीय र विदेशी खेलाडीको टिमवर्कले गर्दा जित सम्भव बन्यो,” जितपछि काठमाण्डूका कप्तान करणले भने । 

हारबाट विचलित छैन साविक विजेता
साविक विजेता जनकपुर पहिलो संस्करणमा लगातार चार खेल जित्दै सानदार सुरुआत गरेको थियो । तर, सोमबार पहिलो खेलमै पराजित हुँदा १६० रनको योगफल बनाउने लक्ष्य रहे पनि त्यहाँसम्म पुग्न नसकेको बताए ।

“हामीले बीचमा साझेदारी बनाउन सकेनौँ । आसिफले गरेको सुरुआतमा साथ दिने अरु भएनन् । हाम्रो लक्ष्य १६० रनसम्म पुग्ने भन्ने थियो । तर, त्यति बनाउन सकेनौँ,” अनिलले भने । 

581843303_1349012846600437_2615932697368812265_n-1763385842.jpg
अनिलको कप्तानीमा मैदान उत्रिएको जनकपुर वेस्ट इन्डिजका चर्चित पूर्वक्रिकेटर शिवनारायण चन्द्रपालको प्रशिक्षणमा छ । पहिलो संस्करणको च्याम्पियनले दोस्रो संस्करणको पहिलो खेलमै हार बेहोर्दा स्वाभावलै प्रश्न उठ्यो, साविक विजेताको ट्याग हुँदा दबाब बढेको हो ?

जवाफमा अनिलले भने, “हामीले पहिलो संस्करण जितिसक्यौँ । दबाब अरु टिमलाई होला, हामीलाई छैन । जनकपुर उपाधि रक्षा गर्न भनेर नै आएको हो ।”

NPL_janakpur_kathmandu-(24)-1763385851.jpg

NPL_janakpur_kathmandu-(1)-1763385844.jpg

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २३:२६
प्रतिक्रिया दिनुहोस्