site stats
बाह्रखरी :: Baahrakhari
खेल
पोखरा एभेन्जर्स : निसमको आगमनले फेरिएला प्रदर्शन ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल्ने आठमध्येको एक टिमले पर्यटकीय राजधानीको प्रतिनिधित्व गर्छ । अर्थात्, पोखरा एभेन्जर्स । गण्डकी प्रदेश क्षेत्रको यो टिम नेपाल टी.ट्वान्टी प्रालिको स्वामित्वमा छ । 

पोखरा भारतका पूर्वराष्ट्रिय क्रिकेटर राजीव कुमारकै प्रशिक्षणमा दोस्रो संस्करणमा मैदानमा उत्रनेछ । पहिलो संस्करणकै मुख्य प्रशिक्षक कुमारलाई टिमले निरन्तरता दिएको हो । 

टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका नियमित सदस्य तथा ओपनिङ ब्याटर कुशल भुर्तेल छन् ।

पोखराले जिम्मी निसम, जेसन रोई, डान डाउटवाल्टे, रेमोन रेइफर र एडाम रोसिंगटोन गरी पाँच विदेशी खेलाडी भित्र्याएको छ । 

मार्की भुर्तेलसहित न्युजिल्यान्डमा घरेलु क्रिकेट खेल्ने दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, विपीन खत्री, तीर्थराज दास र आकाश चन्दलाई रिटेन गरिएको छ ।

टिमले अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप क्षेत्रीलाई अक्सनबाट भित्र्याएको थियो । पोखराले ट्यालेन्ट हन्टबाट सुदीप अर्याललाई टिममा समावेश गरेको छ ।

हेर्न लायक खेलाडी
टिममा विदेशीमध्ये हेर्न लायक खेलाडी जिम्मी निसम हुन् । पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङ दुवैतर्फ निसमको प्रदर्शन अब्बल थियो ।

उनले जनकपुरबाट नौ खेल खेल्दा दुई अर्धशतकसहित २४७ रन बनाएका थिए । निसम नै पहिलो संस्करणमा सर्वाधिक स्ट्राइक रेटसहित ब्याटिङ गर्ने ब्याटर समेत हुन् । पहिलो संस्करणमा उनको स्ट्राइक रेट १९० को थियो । बलिङतर्फ निसमले सात विकेट लिएका थिए ।

न्युजिल्यान्डका अलराउन्डर निसमले टेस्ट, एकदिवसीय र ट्वान्टी–२० गरी कुल १८१ खेलमा राष्ट्रको प्रतिनिधित्व गरेका छन् ।

एडम रोसिंगटन पनि पोखराका हेर्नलायक खेलाडीमा पर्छन् । रोसिंगटोन इंग्ल्यान्डका विकेट किपर हुन् । 

उनले इंग्ल्यान्डको घरेलु क्रिकेटमा तीन हजार ५७६ रन जोडेका छन् । लिस्ट ‘ए’मा ४९ इनिङ खेल्दा उनले एक हजार ३८१ रन बनाएका छन् । एफसीमा उनले पाँच हजार ४४६ रन जोडेका छन् । 

तथ्याकंमा गत वर्ष
पोखरा पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो । तालिकाको सातौँ स्थानमा रही लिग टुंग्याएको पोखराले सात खेलमा चार अंक मात्र जोड्न सकेको थियो ।

लिग चरणमा टिमले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित निकालेको थियो । पोखराले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको थियो ।

यस्तै, पोखराले चितवनसँग ८७ रन, सुदूरपश्चिमसँग पाँच विकेट, काठमाण्डू गोर्खाजसँग ६ विकेट, कर्णाली याक्ससँग सात विकेट र जनकपुरसँग सात विकेटको हार व्यहोरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्