site stats
बाह्रखरी :: Baahrakhari
खेल
कीर्तिमानी ब्याटिङ गर्दै विराटनगर ५३ रनले विजयी

काठमाडौं । कीर्तिमानी ब्याटिङ गरेको विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको सहज जित निकालेको छ ।

मंगलबार लिगअन्तर्गत त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा विराटनगरले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १८.५ ओभरमा सबै विकेट गुमाएर १६७ रनमात्र बनाउन सक्यो ।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ३१ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यस्तै, एडम रोसिङ्टनले २१ बलमा पाँच चौका र दुई छक्कासहित ३९ रन थपे । १२–१ को स्थितिबाट यी दुईले दोस्रो विकेटका निम्ति ३२ बलमा ७६ रनको विस्फोटक साझेदारी गर्दै पोखराको इनिङ सम्हाल्ने प्रयास गरे । तर, ६.६ ओभरमा रोसिङ्टन पवेलियन फर्किएपछि पोखराको लयमा ‘ब्रेक’ लाग्यो ।

Biratanagar-vs-Pokhara-(1)-1763477250.jpg
 

पोखराबाट दोहोरो अंकमा रन जोड्नेमा डान डाउथवेट र अभिषेक तिवारी रहे । यी दुईले क्रमशः २९ र ११ रन थपे । यसबाहेक, पोखराका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका जिम्मी निसम ‘गोल्डेन डक’ भए । तीर्थराज दास ‘डक’ भए ।

पोखरालाई १६७ रनमा रोक्न विराटनगरका मर्चेन्ट डे लांगे, कप्तान सन्दीप लामिछाने, शुभम रञ्जाने र प्रतिश जिसीले समान दुई–दुई विकेट लिए । रञ्जानेले ६.६ ओभरमा रोसिङ्टनको विकेट लिनु र त्यसपछिको दुई ओभरमा सन्दीपले निसम र तीर्थको विकेट लिनु खेलको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

सूर्य तामाङ र बसिर अहमेदको नाममा समान एक–एक विकेट रह्यो ।

Biratanagar-vs-Pokhara-(4)-1763477248.jpg
कीर्तिमानी पहिलो इनिङ
त्यसअघि, मार्टिन गप्टिल र लोकेश बमले अर्धशतकीय इनिङ खेलेपछि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रनको लक्ष्य प्रस्तुत गरेको थियो । यो एनपीएलमा बनेको सबैभन्दा ठूलो योगफल हो ।

एनपीएल इतिहासमै पहिलोपटक २०० रन कटाउने टिम बनेको विराटनगरले यसअघि लुम्बिनी लायन्सको नाममा रहेको कीर्तिमान तोडेको हो । यसअघि, लुम्बिनीले विराटनगरविरुद्ध नै गत सिजन १९१ रन बनाउँदै पहिलो इनिङमा सबैभन्दा ठूलो योगफलको कीर्तिमान बनाएको थियो । तर, दोस्रो इनिङमा १९३ रन बनाउँदै विराटनगरले उक्त खेलमा दुई विकेटको जित निकालेको थियो ।

विराटनगरबाट ओपनर लोकेशले सर्वाधिक ७२ रन बनाए । उनले ४८ बलमा एक चौका र सात छक्का प्रहार गरे । यस्तै, न्युजिल्यान्डका पूर्वब्याटर गप्टिलले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ६१ रन थपे ।

Biratanagar-vs-Pokhara-(2)-1763477247.jpg
यी दुईले १४–१ को स्थितिबाट दोस्रो विकेटका लागि १३२ रनको शतकीय साझेदारी गर्दै विराटनगरलाई विशाल योगफलतर्फ डोहोर्‍याएका थिए । यो एनपीएल इतिहासमा दोस्रो विकेटका लागि बनेको अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी हो ।

यसअघि, गत सिजन सुदूरपश्चिमका विनोद भण्डारी र ब्रान्डन म्याकमुलमले दोस्रो विकेटका निम्ति ८६ रनको साझेदारी गरेका थिए । यस्तै, समग्रमा भने यो एनपीएलको दोस्रो ठूलो साझेदारी हो ।

लोकेश र गप्टिलभन्दा अघि रहेका पोखराका आन्द्रियस गौस र दिनेश खरेलले यसअघि गत सिजन सबैभन्दा ठूलो साझेदारी गरेका थिए । त्यसबेला गौस र दिनेशले लुम्बिनीविरुद्ध १७६ रनको अविजित साझेदारी गरेका थिए ।

अन्तिममा विस्फोटक फिनिसिङ गरेका शुभम रञ्जानेले १६ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए । बसिर अहमेदले १३ बलमा एक चौका र छक्कासहित २३ रन थपे । अविजित रहेका नारायण जोशीले तीन बलमा एक चौका र एक छक्कासहित ११ रन बनाए ।

विराटनगरविरुद्ध फितलो बनेको बलिङतर्फ पोखराका म्याट टेलरले दुई विकेट लिए । आकाश चन्द, सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान एक–एक विकेट लिए । ६ बलर प्रयोग गरे पनि पोखराका कुनै पनि बलरले १० भन्दा तलको इकोनोमीमा बलिङ गर्न सकेनन् ।

May be an image of crowd and text

यसअघि, आजै भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध चार विकेटको जित निकालेको थियो । प्र

तियोगितामा भोलि (बुधबार) काठमाण्डू गोर्खाजले साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्