काठमाडौं । गत सिजन सुपर ओभरमा हार व्यहोरेको टिमसँग यो सिजन कीर्तिमानी ब्याटिङसहित सहज जित निकाल्दा कप्तान सन्दीप लामिछाने निकै खुसी थिए ।
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।
तर, त्यही टिमविरुद्ध मंगलबार कीर्तिपुरमा करिब एक वर्षपछि प्रतिस्पर्धामा उत्रिँदा विराटनगरको प्रदर्शन कीर्तिमानी रह्यो । यो कीर्तिमानी जितमा सारथी बने, न्युजिल्यान्डका आक्रामक ब्याटर मार्टिन गप्टिल र नेपालमै ‘हार्ड हिटर’ बनेका लोकेश बम ।
यी दुईले स्वभावअनुसारको ब्याटिङ गर्दा विराटनगर एनपीएल इतिहासमै २०० रन कटाउने पहिलो टिम बन्यो । एनपीएल प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा ठूलो योगफल बनाउने टिम हो । खेलअघि टस जितेर पोखराले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभर पुग्दासम्म स्कोरबोर्डमा ६ विकेट गुमाएर २२० रनको विशाल योगफल बनाएको थियो ।
“सबै खेलाडीहरुले चुनौतीलाई लिँदै स्कोरबोर्डमा राम्रो योगफल बनाए । हामीले जसरी एकताबद्ध भएर खेल्यौँ, त्यसमा निक्कै खुसी छु,” दोस्रो इनिङमा पोखरालाई १६७ रनमा समेट्दै ५३ रनको जित निकालेपछि विराटनगरका कप्तान सन्दीपले भने ।
एनपीएल इतिहासमै पहिलोपटक २०० रन कटाउने टिम बनेको विराटनगरले समग्र ब्याटिङमा आफ्नै कीर्तिमान तोडेको हो । यसअघि, लुम्बिनीले विराटनगरविरुद्ध नै गत सिजन १९१ रन बनाउँदै पहिलो इनिङमा सबैभन्दा ठूलो योगफलको कीर्तिमान बनाएको थियो ।
तर, दोस्रो इनिङमा १९३ रन बनाउँदै उक्त खेलमा दुई विकेटको जित निकाल्दा विराटनगर आफैँ त्यसबेला सबैभन्दा धेरै रन बनाउने टिम बनेको थियो । मंगलबार पहिले ब्याटिङमा आएको विराटनगरले यी दुवै कीर्तिमानलाई तोड्यो ।
लोकेशलाई गप्टिलको साथ
पहिलो इनिङमा ओपनर जर्ज मुन्सीलाई गुमाउँदा विराटनगरले स्कोरबोर्डमा १४ रनमात्र जोडेको थियो । तर, यसपछि क्रिजमा रहेका अर्का ओपनर लोकेश बमलाई साथ दिन गप्टिल आइपुगे । र, यी दुईकै शतकीय साझेदारीले विराटनगरलाई विशाल योगफलसम्म डोर्यायो ।
लोकेशले समग्र प्रतियोगितामा दोस्रो अर्धशतक बनाउँदा ७२ रन जोडे । ४८ बल खेलेका उनले एक चौका र सात छक्का प्रहार गरे । १५.३ ओभरमा लोकेशलाई गुमाउँदा विराटनले स्कोरबोर्डमा १५७ रन बनाइसकेको थियो । लोकेशसँगै आक्रामक ब्याटिङमा उत्रिएका गप्टिलले ३५ बलमा ६१ रन बनाए । जसमा तीन चौका र पाँच छक्का सामेल छन् ।
यी दुईले १४–१ को स्थितिबाट दोस्रो विकेटका लागि १३२ रनको शतकीय साझेदारी गर्दै विराटनगरलाई विशाल योगफलतर्फ डोर्याएका थिए । यो एनपीएल इतिहासमा दोस्रो विकेटका लागि बनेको अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी हो ।
यसअघि, गत सिजन सुदूरपश्चिमका विनोद भण्डारी र ब्रान्डन म्याकमुलमले दोस्रो विकेटका निम्ति ८६ रनको साझेदारी गरेका थिए । यस्तै, समग्रमा भने यो एनपीएलको दोस्रो ठूलो साझेदारी हो ।
लोकेश र गप्टिलभन्दा अघि रहेका पोखराका आन्द्रियस गौस र दिनेश खरेलले यसअघि गत सिजन सबैभन्दा ठूलो साझेदारी गरेका थिए । त्यसबेला गौस र दिनेशले लुम्बिनीविरुद्ध १७६ रनको अविजित साझेदारी गरेका थिए ।
७२ रनको अर्धशतकीय इनिङले लोकेश खेलको ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए । तर, कप्तान सन्दीपले भने लोकेशको उत्कृष्ट प्रदर्शन अझै आउन बाँकी नै रहेको बताए ।
“मलाई लोकेशको बेस्ट अझै आउन बाँकी नै छ जस्तो लाग्छ । र, यही प्रतियोगितामा आउँछ जस्तो लाग्छ,” सन्दीपले भने ।
भुर्तेलको एकल प्रयास, रोसिङ्टनको विकेट टर्निङ प्वाइन्ट
२२१ रनको लक्ष्यसहित मैदान उत्रिएको पोखराले पावर प्लेमा ‘ब्याटिङ इन्टेन्ट’ देखाउँदै विस्फोटक सुरुआत गरेको थियो । स्कोरबोर्डमा १२ रनमात्रै हुँदा ओपनर दिनेश खरेललाई गुमाए पनि पोखराले पावर प्लेको भरपूर सदुपयोग गर्यो । दिनेश पभेलियन फर्किएपछि ब्याटिङमा आएका कुशल भुर्तेल र अर्का ओपनर एडम रोसिङ्टनले पावर प्ले सकिँदासम्म पोखराको स्कोरबोर्डमा ७७ रन बनाएको थियो । यी दुईले दोस्रो विकेटका निम्ति ३२ बलमा ७६ रनको विस्फोटक साझेदारी गर्दै स्कोरबोर्डमा ८८ रन बनाएका थिए ।
तर, ६.६ ओभरमा रोसिङ्टन पभेलियन फर्किएपछि पोखराको यो लयमा ‘ब्रेक’ लाग्यो । रोसिङ्टनलाई विराटनगरका सुभव रन्जानेले एलबीडब्लूको धरापमा पारे । लगत्तै अर्को ओभरमा कप्तान सन्दीप लामिछाने पहिलो संस्करणमा सनसनी मच्चाएका जिम्मी निसम र तीर्थराज दासलाई पभेलियनको बाटो देखाए । यही दुई ओभर विराटनगरको सहज जितमा ‘टर्निङ प्वाइन्ट’ बन्यो ।
सन्दीपले ७.२ ओभरमा ‘कट एन्ड बोल्ड’ गरे । सोही ओभरको चौथो बलमा तीर्थराजलाई बोल्ड गर्दै पभेलियन फर्काए । पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका जिम्मी निसम ‘गोल्डेन डक’ भए । तीर्थराज दास ‘डक’ भए ।
सन्दीप पनि मान्छन्, आफ्नो र आफूभन्दा अघि सुभवले लिएको विकेटलाई खेल ‘टर्निङ प्वाइन्ट’ बन्यो ।
उनले भने, “मभन्दा अघि सुभवकोले विकेट निकाल्नुले नै हामीलाई सजिलो बनाइदियो । त्यसपछि मैले मेरो ओभरमा दुई विकेट निकाले । त्यसपछि खेल हाम्रो पक्षमा ढल्किँदा खुसी छु ।”
रोसिङ्टनको विकेटपछि पोखराको विकेट जाने क्रम रोकिएन । तर, क्रिजको अर्को एन्डमा अडिएका भुर्तेलले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ३१ बल खेल्दा पाँच चौका र चार छक्का प्रहार गरे । १४.१ ओभरमा भुर्तेललाई मर्चेन्ट डे लाङ्गेले लोकेश बमबाट क्याच गराए । यसपछि पोखराले १८.५ ओभरमा सबै विकेट गुमायो ।
हारपछि पोखराका कप्तान भुर्तेलले पहिलो खेल भएर खेलाडी आत्तिएको बताए ।
“पहिलो खेल भएकाले खेलाडीहरू केही नर्भस भए । पहिलो खेल भएर पनि होला । हामीले १५–२० रन धेरै खायौँ जस्तो लाग्छ,” भुर्तेलले भने ।
