काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले 'जेनजी' आन्दोलनका क्रममा आफ्नै घर जलेको पीडा पोखेका छन् । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जलाइएको आफ्नो घरको 'खरानी' हातमा लिँदै उनले फेसबुकमा भावुक स्टाटस लेखेका हुन् ।
शाक्यले आफूले जीवनभर ऊर्जा क्षेत्रको आत्मनिर्भरताका लागि योगदान गर्दै आएको उल्लेख गर्दै प्रश्न गरेका छन्, “मैले के बिराएँ ?”
उनी भन्छन्, “चार दशकमै आफूले सानो सपना ‘नेपाललाई आत्मनिर्भर बनाउने’ मात्र बोकेको हुनाले त्यसैका लागि जहाँ जे सकिन्छ त्यही गरेको हुँ ।”
कुलेखानीदेखि मर्स्याङ्दी, चिलिमे, एलडीसी, इन्जिनियरिङदेखि प्राधिकरणसम्म आफूले गरेका सबै काम आत्मनिर्भर ऊर्जा प्रणाली निर्माणकै लागि रहेको उनले लेखेका छन् ।
स्टाटसमा उनले आफूलाई राजनीतिक व्यक्तित्व नभएको, आफ्नै पेशागत क्षेत्रका कर्मयोगीका रूपमा हेर्न आग्रह गरेका छन् । घर जलेपछि उब्जिएको मनको वेदना पोख्दै उनले भनेका छन्, “म राजनीतिक नेता हैन । घर र सन्तानको खरानी हातमै लिएर कसरी बिर्सेर अघि बढूँ ?”
शाक्यले आन्दोलनका क्षणमा कसैलाई ‘सालो केटो’ वा ‘कालो केटो’ भन्दै दोषारोपण गर्ने प्रवृत्तिमाथि पनि असन्तुष्टि प्रकट गरे । थर मिल्यो भनेर आफूलाई लक्षित गरिनु अन्याय भएको उनको भनाइ छ ।
आत्मनिर्भर ऊर्जा र प्रविधिक विकासमा जोर दिँदै उनले लेखेका छन्, “म भीम मल्ल बन्न चाहन्नँ, न कसैले देशलाई सरापोस् । म त सिर्फ बिशे नगर्ची बन्न चाहन्छु, कोही आत्मनिर्भर नेपालको पृथ्वीनारायण बनेर आउनुस् ।”
घर जलेको, दशकौँको मेहनत खेर गएको र आफूले ब्यहोर्नुपरेको आरोपहरूको पीडालाई उनले स्टाटसकै माध्यमबाट बाहिर ल्याएका छन् । अन्त्यमा उनी लेख्छन्, “मुटु मेरो पनि सानै रहेछ, त्यसैले चरक्कै चर्किन्छ । तर, पनि आत्मनिर्भरताको बाटोमै उभिन चाहन्छु ।”