काठमाडौं । पहिलो इनिङको बलिङ र दोस्रो इनिङको आधा खेल समाप्त भइसक्दासम्म पनि काठमाण्डूको हार कल्पना बाहिर थियो । तर, क्रिकेटमा यस्तै हुन्छ, मात्र १० बलले फरक इनिङको निर्णय गर्ने खेल न हो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र काठमाण्डू गोर्खाजबीचको खेलमा ठ्याक्कै यस्तै भयो ।
१४८ रनको लक्ष्यसहित मैदान उत्रिएको काठमाण्डू १०.४ ओभरसम्म ८८–४ को सहज स्थितिमा थियो । यहाँबाट जितका निम्ति काठमाण्डूलाई ५८ बलमा ६० रनको आवश्यकता थियो । हातमा अझै ६ विकेट बाँकी हुँदा सहज जितको अनुमान पनि थियो ।
तर, साविक उपविजेताले सनसनीपूर्ण ‘कमब्याक’ गरेपछि सुदूरले २९ रनको जित निकाल्यो । १०.४ मा ८८–४ को स्थितिबाट काठमाण्डू १६.५ मा ११८ रनमै समेटियो ।
“हाम्रो बलिङ राम्रो छ । यसमा कुनै दुईमत छैन । किनभने खेलमा हामीले जति बेला बलर परिवर्तन गर्यौँ, हरेक परिवर्तनमा बलरहरूले विकेट दिलाएका छन्,” जितपछि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले भने ।
हर्मित र दीपेन्द्रले धानेको इनिङ
जित सनसनीपूर्ण बन्दा कमजोरी छोपिए पनि सुदूरपश्चिमले ब्याटिङमा निक्कै संघर्ष गर्नुपर्यो । काठमाण्डूका कप्तान करण केसीले पहिलो ओभरमै सुदूरका दुवै ओपनरलाई पभेलियन फर्काउँदै दबाबमा राखेका थिए । सुदूरका दुई ओपनर विनोद भण्डारी र जस ब्रोन ‘डक’ भए । संयोगबस दुवैले समान दुई बलमात्र खेले । तेस्रो ब्याटिङक्रमका चर्चित अस्ट्रेलियन ब्याटर क्रिस लिन पनि १० बलमा दुई रनमात्र जोडेर पभेलियन फर्किदा सुदूरले स्कोरबोर्डमा चार रनमात्र जोडेको थियो ।
यी तीनै ब्याटर काठमाण्डूका मार्की करणको विकेट बने । अझ पहिलो पावर प्लेको अन्तिम बलमा इशान पाण्डेलाई व्यक्तिगत ११ रनमा गुमाएपछि सुदूर २७–४ को नाजुक स्थितिमा थियो ।
सुदूरपश्चिमले ९.४ ओभरमा आरिफ सेख (२५) र १३.२ ओभरमा नरेन (६) लाई गुमायो । तर, स्कोर ७२–६ को कठिन स्थितिमा हुँदा ब्याटिङका निम्ति आएका हर्मित सिंहले कप्तान दीपेन्द्रसिंह ऐरीसँग आक्रामक शैली अपनाए ।
यी दुईले ७३–६ को स्थितिबाट सातौँ विकेटका निम्ति ६१ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोर्याए ।
...अनि बन्यो १४ बलमा ५३ रन
खेलको १५औँ ओभरको पहिलो बलमै काठमाण्डूका राशिद खान र हर्मितबीच भनाभनको स्थिति बनेको थियो । यसबेलासम्म हर्मित तीन बलमा दुई रन बनाएर खेलिरहेका थिए । राशिदको उक्त बललाई ‘बाउन्स’को इशारा नगर्दा हर्मितले अम्पायरसँग असन्तुष्टि पोखेका थिए ।
तर, हर्मितको अपिलप्रति राशिदले प्रतिकृया दिँदा यी दुईबीचको भनाभन अन्त्य गर्न अम्पायर र सुदूरका कप्तान दीपेन्द्र अघि बढेका थिए ।
त्यसको अर्को ओभरमा हर्मितले आक्रामक शैली अपनाउँदै तीन छक्कासहित कुल २१ रन प्रहार गरेका थिए । हर्मितले काठमाण्डूका मिलिन्द कुमारले गरेको उक्त ओभरको पहिलो, दोस्रो र पाँचौँ बलमा छक्का प्रहार गरे । लगत्तै १७औँ ओभरमा पनि हर्मितले यही लय कायम राखे । यो ओभरमा २५ रन प्रहार गर्दा हर्मितले करणलाई लगातार चार बाउन्ड्री प्रहार गरेका थिए । उक्त ओभरको पहिलो बल चौका प्रहार गर्दा हर्मितले यसपछिका तीन बलमा लगातार तीन छक्का प्रहार गरे ।
१८औँ ओभरमा हर्मितलाई साथ दिँदै कप्तान दीपेन्द्रले पनि छक्का प्रहार गरे । राशिद खानले गरेको उक्त ओभरको दोस्रो बलमा दुई रन लिए पनि तेस्रो बलमा आदील आलमबाट क्याच हुँदा दीपेन्द्रको इनिङ समाप्त भएको थियो । तर, हर्मित र दीपेन्द्रले त्यसअघिको १४ बलमा ५३ रन जोड्दै टिमलाई सम्मानजनक स्कोरसम्म पुर्याइसकका थिए ।
दीपेन्द्रले ३० बल खेल्दा सुदूरको खातामा ३९ रन थपे । दीपेन्द्र आउट भएपछि सुदूरले १५ बलमा १४ रनमात्र जोड्न सक्यो । हर्मितले १८.४ ओभरमा चौकासहित अर्धशतक पूरा गरे । तर, त्यसको अर्को बलमा सन्नी पटेलले साहब आलमबाट क्याच गराएपछि हर्मितको इनिङमा पनि पूर्णविराम लाग्यो । उनले आक्रामक ब्याटिङ गर्दै २० बलमा ५३ रन बनाए । यो दोस्रो संस्करणमा सबैभन्दा कम बलमा बनेको अर्धशतकसमेत हो ।
पहिलो खेलमा साविक विजेता जनकपुरलाई हराउँदै लय देखाएको काठमाण्डूबाट दोस्रो खेलमा कुनै पनि ब्याटरले सम्हालिएर खेल्न सकेनन् । प्रशिक्षक मोन्टी देसाईको गुनासो पनि यसैमा रह्यो । हारपछि उनी भन्छन्, “१४८ रन भेट्टाउन सक्ने लक्ष्य थियो ।”
