काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एपीएल) हेर्न आउने दर्शकबाट पार्किङ शुल्क उठाइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्रिवि रजिस्ट्रारको कार्यालयले बिहीबार एक सूचनामार्फत त्रिवि परिसरभित्रको जग्गामा सवारी पार्किङ गरेबापत शुल्क लिने कार्यमा विश्वविद्यालयको कुनै अनुमति नरहेको स्पष्ट पारेको छ ।
एपीएल हेर्न आउने दर्शकका सवारीसाधन रंगशाला आसपास विश्वविद्यालयको जग्गामा पार्किङ गर्दा शुल्क असुल गरिएको गुनासो आएपछि त्रिविको धारणा आएको हो ।
"उक्त सशुल्क पार्किङ सम्बन्धमा त्रिविद्वारा कुनै पनि व्यक्ति, संघ, संस्थाहरूसँग कुनै सम्झौता नगरेको र अनुमतिसमेत नदिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध छ," सूचनामा भनिएको छ ।