site stats
बाह्रखरी :: Baahrakhari
खेल
बोपाराको लगातार अर्धशतक, अम्पायरको निर्णयमा बढ्दो असन्तुष्टि

काठमाडौं । “हामीले आजपर्याप्त रन बनाउन सकेनौँ,” आफ्नो अर्धशतकका बावजुदले टिमले हार व्यहोरेपछि चितवन राइनोजका मध्यक्रम ब्याटर रवि बोपाराले असन्तुष्टि पोखे ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङमा आएको चितवनले १४२ रनको मध्यम योगफल तयार पार्दा बोपाराकै प्रदर्शन केन्द्रमा रह्यो । टस हारेपछि ब्याटिङमा निम्त्याइएको चितवनले १६ रनमा दुवै ओपनरलाई गुमाउँदा बोपारा क्रिजमा ओर्लिएका थिए । 

गत सिजन पनि चितवनकै प्रतिनिधित्व गरेका बोपारा २८६ रनसहित प्रतियोगिताको दोस्रो सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका थिए । त्यसबेला चितवनबाट आठ इनिङ खेल्दा बोपाराले तीन अर्धशतक बनाएका थिए । 

इंग्ल्यान्डको राष्ट्रिय टिमबाट समेत खेलिसकेका ४० वर्षीय बोपारा यस सिजन पनि उस्तै लयमा छन् । उनले जारी सिजन चितवनले खेलेका दुई खेलमध्ये दुवै खेलमा अर्धशतक बनाइसके । बिहीबार लुम्बिनीसँगको खेलमा बोपाराले सम्हालिएर प्रदर्शन गर्दै ५५ बलमा चार चौका र तीन छक्कासहित ६६ रन बनाए । 

त्यसअघि उनले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । लगातार दुई अर्धशतकसँगै बोपारा प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउने खेलाडीसमेत बनेका छन् । बोपाराले एनपीएलका कुल १० खेलमा ४०४ रन बनाइसकेका छन् । जसमा कुल पाँच अर्धशतक समावेश छन् । औसतअनुसार बोपाराले एनपीएलको प्रत्येक दोस्रो खेलमा अर्धशतक बनाएका छन् ।

बोपाराको एकल प्रयासमा चितवन मध्यम योगफलसम्म पुगे पनि यसलाई जोगाउन भने असफल रह्यो । दोस्रो इनिङमा १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट पूरा गर्‍यो । ६ विकेटको जितसहित दोस्रो संस्करणको सुरुआत गर्दा रुवेन ट्रम्पेलमन ‘प्लेयर अफ दी म्याच’ चुनिए । उनले पहिलो इनिङमा चितवनलाई कमजोर योगफलमा रोक्न तीन विकेट लिए । 

चितवनसँगको संयोग
गत सिजन अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरेको टिम हो लुम्बिनी । पहिलो संस्करणमा लुम्बिनीले लिग चरणका सात खेलमध्ये एक खेलमा मात्र जित निकालेको थियो । लुम्बिनीले प्रतियोगिताको पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध नै ३३ रनको जित निकालेको थियो । 

संयोगवस लुम्बिनीले नयाँ सिजनको पहिलो खेलमा चितवनलाई नै ६ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको छ । 

“हामीले चितवनको पहिलो खेल हेरेका थियौँ । त्यसले हाम्रो रणनीतिमा सहयोग गर्‍यो,” जितपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले भने ।

स्टम्प आउट चेक गर्न करिब पाँच मिनेट लाग्दा 
दोस्रो इनिङको १४औँ ओभर कीर्तिपुरमा केहीबेर असामान्य परिस्थिति बन्यो । चितवनबाट बलिङका निम्ति आएका मार्की तथा कप्तान कुशल मल्लको बलमा अघि बढेर प्रहार गर्ने खोजे पनि लुम्बिनीका कप्तान रोहित चुके । सोही बललाई नियन्त्रणमा लिँदै चितवनका अर्जुन साउदले ‘स्टम्प’ गरे । तर, त्यसमा मैदानभित्र रहेका फिल्ड अम्पायरले निर्णय दिन नसकेपछि ‘टिभी अम्पायर’को इशारा गरियो । 

निक्कै पेचिलो बनेको उक्त स्टम्पिङबारे निर्णय दिन टिभी अम्पायर विनय झाले निक्कै समय लिए । रोहितको खुट्टा हावा रहेको जस्तो देखिए पनि करिब पाँच मिनेटको अवधिपछि झाले ‘नटआउट’ दिए । 

अम्पायरको यो निर्णयमा चितवनका खेलाडीले विश्वासै गर्न सकेनन् । चितवनका सबैजसो खेलाडीले ‘आश्चर्यको भाव’सहित हात टाउकोमा पुर्‍याएका थिए । कप्तान कुशल मल्लले फिल्ड अम्पायरसँग नै पुगेर असन्तुष्टि पोखे ।

खेलपछि चितवनबाट अर्धशतक बनाएका बोपाराले पनि अम्पायरका केही निर्णय आफूहरुको अपेक्षाविपरीत भएको बताए । 

“केही निर्णयहरू हाम्रोविरुद्धमा रहे । कुनै पनि निर्णयका निम्ति आवश्यक पर्ने प्रविधि हुँदाहुँदै पनि सही निर्णय दिन नसक्नु उचित होइन । तर, आज त्यस्तै भयो । यसबारे विवाद गर्न सकिँदैन । हामी अघि बढ्नुपर्छ,” बोपाराले भने । 

आठै टिमले खेले पहिलो खेल
लुम्बिनीले बिहीबार आफ्नो पहिलो खेलमा जित निकालेसँगै दोस्रो संस्करणका आठवटै टिमको कम्तिमा एक खेल सम्पन्न भएको छ । आठ टिममध्ये चितवन र काठमाण्डूले भने चार दिनमा समान दुई खेल खेलिसकेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेतासमेत जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजसँग पाँच विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध चितवनले चार विकेटको जित निकालेको थियो ।

तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले ५३ रनको, चौथो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डूविरुद्ध २९ रन र बिहीबारको खेलमा लुम्बिनीले चितवनविरुद्ध ६ विकेटको जित निकालेको छन् ।

अंक तालिकामा दुई खेलमा दुई अंकसहित काठमाण्डू शीर्ष स्थानमा छ । पाचौँ स्थानसम्म समान दुई अंक जोडेका लुम्बिनी, सुदूरपश्चिम, चितवन र विराटनगर क्रमैसँग छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ०६:२१
प्रतिक्रिया दिनुहोस्