site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बयान

यो कथा सत्य घटनाहरूमा आधारित छ– यस्तो भनिदिँदा पाठक कथा पढ्न उत्सुक हुन सक्छ । कस्तो सत्य घटना ? सत्य शब्द आफैँमा आकर्षक हुन्छ । तर, आखिर कथामा सत्य भन्ने केही त हुनुपर्‍यो । कथामा के सत्य छ र त्यो सत्य घटना साबित हुन्छ ? पढिहेरौँ ! 

पाठकको प्रश्नात्मक उत्सुकता यस्तो हुन सक्छ । तैपनि मलाई ठीक लागेन कि कथालाई सत्य घटनामा वा एकभन्दा बढी सत्य घटनाहरूमा आधारित भनेर दाबी गर्ने । 

ठग्नुको पनि एउटा हद हुन्छ । कथाकार यताउताका कुरा बुनेर प्रस्तुति दिने के ठग हो ? तर मैले ठगिरहेको थिइनँ । तर वास्तवमै यो कथा सत्य घटनामा आधारित छैन भनेर भन्न पनि सकिरहेको छैन । त्यस्तैत्यस्तै ऊहापोहमा यो कथा लेखियो । तर चुरो प्रश्न यो नै रह्यो– कथा वास्तवमै सत्य घटनामा आधारित हो वा होइन ? 

कथा लेख्न त बसेँ । यो निश्चय गर्न भने सकिनँ– कथालाई कसरी सत्य घटनामा आधारित छ भन्ने ? तर, फेरि प्रश्न त्यही उठ्यो कि कथालाई सत्य घटनामा आधारित छैन भन्ने पनि कसरी ? यो त एक सत्य घटना नै हो । 

पहिलो पङ्क्ति लेख्नमै मलाई कठिनाइ भइरहेको थियो । कठिनाइ यो थियो– मैले छिमेककी जेठी छोरीलाई मेरो आफ्नै छोरोसँग सुतेको देखेँ । भन्न सकिन्छ– यति लेख्न कथालाई सत्य घटनामा आधारित छ भनेर केके न दाबी गरेझैँ किन लामो भूमिका बाँधिरहने ? 

यस घटनालाई के कठिनाइ छ र लेख्नमा ? यो सत्य घटना होस् वा नहोस्, कथामा यस्तो कुरा आइरहेकै हुन्छ । कठिनाइ छ नि यसमा, बयानको ।

के यो एउटा यौनकथा हो ? मलाई त लाग्छ, यौनकथामा पनि अचेल विस्तृत र सूक्ष्म विवरण आउन थालिसकेको छ । र तपाईंलाई लाग्न सक्छ, तपाईं एक पोर्नोग्राफी हेरिरहनुभएको छ ।

बयानको कठिनाइ कसरी भन्नुहोला भने, त्यो छिमेककी ठूली छोरीलाई मेरो छोरोले प्रेम गरेको मात्र होइन, ऊसँग लसपस गरेको आफ्नै आँखाले देखेँ, यो सत्य हो । तर, यसविरुद्ध म कुनै अदालत जान सक्दिनथेँ । 

अदालत जानु यसकारण पनि थिएन कि संसारमा केटा र केटीको प्रेमप्रसंग चलिरहन्छ । यो कसैले रोकेर रोकिने वा छेकेर छेकिने होइन । अर्को सत्य पनि थियो– केटा र केटीको सम्मिलन भएर पनि तिनको विवाह भइहाल्छ भन्न सकिन्न । 

विवाहको प्रसंग यहाँनिर किन आयो भने, प्रेम गर्नु एउटा कुरो र विवाह गर्नु अर्को कुरा ।

विवाह एउटा संस्था हो, परम्परा हो । त्यसमा प्रवेश गरेपछि त्यसका मूल्यमान्यता र नैतिकता हुन्छन्, जसलाई पुरुषपक्ष र स्त्रीपक्षले उल्लंघन गर्नै मिल्दैन । 

उल्लंघन गरेपछि विवाह विच्छेदको सम्भावना हुन्छ वा विवाह विच्छेद नभए पनि गृहस्थ जीवन अशान्त र कलहपूर्ण हुन जान्छ । त्यसो नभए पनि अधिकांशमा नारीपक्ष पीडित भएर मौन रहँदै सहँदै बस्नुपर्छ ।

तर, यसमा यति कुरा भन्नलाई ‘यो कथा सत्य घटनामा आधारित छ’ भन्ने दाबी घुसारिहाल्नुपर्ने खण्ड देखिँदैन । तर जुन कुरो छ, त्यो भन्नलाई अलि अप्ठेरो परिरहेकाले यो आधार लिएको पनि हुन सक्छु मैले कि कथा सत्य घटनामा आधारित छ । 

सत्य होस् वा झुटो, यति लेख्नलाई तपाईंले महाजाल बुनिराख्नु पर्दैन । अचेल मान्छहरूसँग समय छैन । व्यस्त नभए पनि मान्छेहरू मानसिक रूपमा असहिष्णु भएका छन् । मोबाइल खेल्नमा मग्न छन् । 

तर, लामो र रसिला कुराको पनि एउटा बेग्लै आनन्द हुन्छ । त तपाईंको छोरोले छिमेककी जेठी छोरीलाई प्रेम गर्छ वा ऊसँग शारीरिक लसपस गरेको प्रत्यक्ष तपाईंले देख्नुभो भन्नुको तात्पर्य के ? त्यति भन्नलाई लाजसरम मान्नुपर्ने त थिएन । 

अथवा तपाईंले समाज बोलाएर तपाईंको छोरोले छिमेककी जेठी छोरीसँग खेलबाड गरेको मैले प्रत्यक्ष देखेँ, अब यसको के गरौँ भनेर प्रश्न गर्नुहुने त थिएन ? कि गर्नुहुन्थ्यो ? यो कुनै कारणले द्रौपदीको चीरहरणको घटना दोहारिएको त होइन । पौराणिककाल फर्किन लागेजस्तो यति हल्ला गर्नुपर्ने किन ? 

तैपनि तपाईं समाजसँग यो गुहार लगाउनुहुन्थ्यो– मेरो छोरोको बिहे त्यही छिमेककी त्यही ठूली छोरीसँग गरिदिनोस्, म यसमा नाइँनास्ति गर्ने छैन । 

यो कुरा भन्न जति सजिलो देखिन्छ, त्यति छैन । ध्यातव्य छ– सजिलो यसकारण छैन, यो सत्य घटनामा आधारित कथा हो भनेर होइन, कारण अर्कै छ । त्यो कारण जगजाहेर पनि छ । 

घामलाई हत्केलाले छेकेर नछेकिएझैँ छेकिने पनि होइन । हेर्नोस्, बयानको रोचकता अनेक घटनामा अनेक पूmलबुट्टा भरेर कायम गर्न सकिन्छ । तर सत्य कुरो यो हो– मेरो छोरोको बिहे भइसकेको छ र उसका दुई सन्तान छन् ।

मैले बयानमा पटकपटक भन्ने गरेको छु– मेरो छिमेककी जेठी छोरीसँग मेरो छोरोले लसपस गरेको मैले यिनै आँखाले प्रत्यक्ष देखेको छु । छिमेककी जेठी छोरी हुनुले कुन सत्य उद्घाटन हुन्छ र हो, बारम्बार जेठी छोरी, जेठी छोरी (मौकामौकामा ठूली छोरी पनि) भनेर पुनरावृत्त भइरहेछ कथामा । 

कुरो यो हो, मेरो छोरो पनि जेठो हो । जेठा र जेठीको राजीखुसी सम्मिलन भयो त के अचम्म ! यसभित्र नैतिकता वा विवाह संस्थामा बाँधिएको व्यक्तिले कसरी त्यस संस्थाको मूल्य, मान्यता र नैतिकता भंग गर्‍यो भन्ने खुल्न आउँछ । अनेक स्त्रीगमन हाम्रो समाजमा मान्य छ– गमन प्रत्यक्षतः नगरेरै भलै गोप्य रूपमा गर्नोस् ।

प्रश्न निश्चय पनि तगडा नै छ । तर, व्यक्तिको स्वतन्त्रता पनि त एउटा अहम् चिज हो । त्यही स्वतन्त्रता प्रयोग गरेर केटा र केटीले शारीरिक तृप्ति प्राप्त गर्ने कार्य गरे भने यति हल्ला मच्चाइहाल्ने कारण छैन र आधार पनि । 

हो, एउटा कारण यो हुन सक्छ– मेरो जेठो छोरो विवाहित छ र उसका दुई सन्तान छन् । यही कुरो मेरी जेठी बुहारीले थाहा पाई भने ? के यसमा पनि शिर उँचो राखेर भन्न सकुँला– दुई जनाको राजीखुसीले भएको शारीरिक सम्पर्क हो, त्यसमा कसैले यान–त्यान भनेर प्रश्न उठाउनु उचित छैन । 

अब यो त छँदै छ, मैले पहिले नै भनेर आइसकेँ– यो कथा सत्य घटनामा आधारित छ । त्यो भनाइले यहाँ के काम गर्‍यो ? यो कुनै हत्यासम्बन्धी वा नेताले घुसकाण्ड गरेको वा आन्दोलनकारीले बाध्य गराएर सत्ता छाड्न लगाएको घटनाहरूको इतिहास लेखन त होइन, जसमा सत्य यो हो, त्यसो होइन भन्ने दाबी पेस गरियोस् । 

यी कुरा म प्रसंग आएकाले भनिरहेछु । तर, नभने पनि हुने थियो अर्थात् काम चल्ने थियो । बयान त्यो पनि जरुरी थिएन– मेरो जेठो छोरो र छिमेककी जेठी छोरी कुन अवस्थामा थिए, लसपस गर्दा ।

क्षमा रहोस्, एक पिताले आफ्नै पुत्रको यौनक्रियाको खुलासा कसरी गर्न सक्ला ?  

त, कुरो यो आयो, छिमेककी जेठी छोरी । प्रसंगमा मैले यो पनि उल्लेख गरेँ– मेरो छोरो पनि जेठो हो र उसका दुई सन्तान छन् । तर छिमेककी छोरी ? ऊ पनि जेठी थिई । 

प्रश्न यो पनि बन्छ– के ऊ एक्ली छोरी थिई ? जेठी भनेपछि एक्ली त हुनुपर्ने होइन । यसमा मैले खासै उत्खनन गरिरहनु परोइन । कारण ऊ मेरै छिमेककी जेठी छोरी थिई र ऊमुनि एक भाइ अनि चार बहिनी अरू थिए । 

भाइ त छोरो छोरै न हो, जता बरालिए पनि भो । खरबुजामाथि छुरी वा छुरीमाथि खरबुजा जसो गरे पनि खरबुजै छेडिने हो । भनाइ पुरातन भए पनि सन्दर्भ नयाँसँग आशय मिल्न आयो । तर छोरो त्यस्तो थिएन खरबुजा छेडिहिँड्ने, छिमेककी महिलाले राम्रै संस्कार दिएकी रहिछन् । 

ऊ पढ्न भनेर अस्ट्रेलियातिर लागेको उतैको भो । पढलेख गरेर उतैको हावापानी पचाएपछि यता दोहोरिएर आउनुपर्ने के काम ? उसमाथि यताको दुरावस्था सबैलाई थाहै छ ।

मलाई यसमा खसखस लागिरहेको एउटा कारण यो थियो– मेरो छोरोले त्यो जेठी छोरीलाई कसरी, मतलब अलि अशिष्ट हुन जाला कि ! तैपनि खास सटीक शब्द त यही हो– फसायो ? वा उसले कसरी मेरो छोरोलाई फसाई ? र, किन फसाई ? किनभने ऊ त अविवाहित थिई । उसले चाहेको भए कुनै कुमार केटो फसाउन सक्थी ।

हो, केटीको नाम पनि थियो, एक किसिमले बोलाइरहूँ जस्तो नाम । तर, यहाँ उल्लेख गर्नाले त्यो नाम भएका अरूहरू रिसाउन पनि सक्छन्– एक त नारीबारेको यस्तो कथा लेखिरहेछ, त्यसमाथि सत्य घटना पनि भनिरहेछ यो मान्छेले । 

आफ्नो बरालिएको छोरोलाई सम्हाल्न नसक्ने तर अर्काकी छोरीको बदनामी गर्ने, कस्तो असभ्य र अशिष्ट हो ? समाज भँडुवा र नारीविरोधी मानसिकता भएको भन्ने आरोप पनि लाग्न सक्छ । 

आरोप अरू पनि लाग्न सक्छन् । आरोपसँग डराएर म भाग्नेवाला होइन । तर कुरो छोट्याउन यसो भन्न सकिन्छ– ...। ल, त्यो अहिले नभनिहालौँ । 

छिमेककी जेठी छोरीका बहिनीहरू अनुस्का, प्रियंका, रीता र अनुसूयाहरू विवाह गरेर वा जात नमिले पनि केटा छानेर आपूmखुसी वा कोर्ट म्यारिज गरेर जीवनको नयाँ फेजमा प्रवेश गरिसके । 

तर, यही जसको नाम मैले लिन गाह्रो मानिरहेको छु, ऊ भने अभैm कुमारी बसिरहेकी छ र बूढीकन्या भन्न मिल्ने गरी उमेर खाइरहेकी छ अर्थात् ऊ ३०–३२ की भइसकेकी छ । 

त्यसो भए पनि एक दिन बिहानै केटीको घरको ढोका ढकढकाएर ‘हैन, अहिलेसम्म तपाईंकी छोरीको बिहे किन हुन सकेन ?’ भनेर कठोर प्रश्न सोध्ने आँट कसैले गर्न सक्दैनथ्यो । भलै प्रश्न नरम भाषामा सोधियोस् तर प्रश्न कठोर नै छ– विवाह किन हुन सकेन ? के खोट छ ?

केटीकी आमा सहरको मध्यमा एउटा रेस्त्राँ चलाएर बसेकी प्रतिष्ठाप्राप्त व्यवसायी महिला हुन् । तर अफसोस, उनका अन्य छोरीहरूको विवाह भएर घरजम भइसकेको छ भने यो एउटी छोरीको नहुनु अचम्मलाग्दो थियो । 

केटी नराम्री थिइन । झकास थिई, यस्तो पनि होइन । तर अलिकति जे थिई त्यसलाई के भन्छन्– बिन्दास थिई !

मलाई यो थाहा छ, छिमेककी छोरीको ३०–३२ भइसक्दा पनि बिहे नहुनु मेरा लागि चिन्ताको विषय थियो । उसकी आमा रेस्त्राँवाली प्रतिष्ठित महिला भए पनि व्यवसायबाट फुर्सद पाएका बेला मसँग बरोबर छोरीबारे चिन्ता व्यक्त गर्थिन्, परामर्श पनि गर्थिन् । 

म एक किसिमले उनको सल्लाहकार भइसकको रहेछु, नजानिँदो तरिकाले । तरिका त के हुनु– म पनि उत्सुक थिएँ । कारण यो पनि थियो– म एकल पुरुष थिएँ, एक व्यवसायी महिलाको सल्लाहकार हुनुका केके फाइदा छन् ? महिला सुन्दर पनि थिइन् । छोरी आमा गोता गएकी थिई नि त !

फाइदा त यही थियो– बेलाबेला उनको रेस्त्राँमा गएर चिकन चिल्ली र दुईचार पेग ह्विस्की फ्रीमा सेवन गरेर आउँथेँ । तर, एक दिन यस्तो भयो, मैले उनकी छोरीलाई लिएर वीरगन्ज गएँ । 

त्यहाँ कुनै एक व्यापारी विदुर थियो, जसलाई बिहेका लागि योग्य केटीको खोजी थियो । मैले छिमेककी जेठी छोरीलाई लिएर व्यापारीलाई केटी देखाउन र कुरा छिन्न वीरगन्ज जानुपर्ने भो । 

केटी जेठी छोरी थिई र अलि बढी स्वतन्त्र थिई । वीरगन्ज पुग्नै लाग्दा सिमरामा मेरा मित्र थिए, एक व्यवसायी । फ्रेस हुन त्यहाँ रोकियौँ हामी । उनले भने, “त्यही व्यापारीको आज बिहे छ, निम्तो मान्न जाने भए जाऊँ, धुमधामको विवाह छ, घुमघाम पनि भइहाल्छ ।” 

के गर्ने, हातबाट उम्केको माछो ठूलो भन्नुभएन, यहाँसम्म आइएकै छ, जाऔँ । हामी गयौँ । ती सिमराका मित्रलाई मैले भनिनँ ती बिहेवाला व्यापारीलाई देखाउन यी योग्य केटी मैले साथमा ल्याएको हुँ । पछिसम्म पनि कसैलाई भनिनँ । 

वीरगन्जको होटेलमा सब कुरा बिग्रियो । व्यापारीको बिहेभोजमा छिमेककी जेठी छोरीले बियर र वाइन खाई, मैले ह्विस्की । होटेल पुग्दा हामी दुवै पहिलेभन्दा बढी नजिकनजिक टाँसिएर हिँडिरहेका थियौँ । 

यो हुन सक्लैन भन्नुहोला, भइसक्यो त ! म त उमेरले साह्रै बूढो त होइन नि ! दुई दिन हामी वीरगन्ज बस्यौँ । केटीले भनी, “यति मज्जा त कहिलै आएको थिएन ।” 

उसका बिन्दास कुराले म अलि लज्जित पनि भएँ । केटीले नै भनिरहेकी छ– मज्जा आयो । मेरो भागमा के रह्यो र, म के भनूँ ?

यो अहिले जुन अर्को घटना भएको छ त्यो सर्वथा पृथक् छ । यसमा मज्जासज्जाको कुरा केही छैन । 

यो यस्तो छ, मेरो छोरो २८ को र छिमेककी छोरी अनुमानतः ३५ की ।

केटीले छड्काएर लगी मेरो छोरोलाई । कता लगी त्यो पत्तो लगाउन सकिरहको छैन मैले । केटी मसँग नपल्केकी भए म अलि बढी सहन्थेँ । त्यसो भएको छैन । घरमा बुहारी छे र एउटा नाति पनि । 

छिमेककी त्यो जेठी छोरीसँग कसरी मेरो छोरोले सम्बन्ध गाँस्यो भन्ने म अनुमानै गर्न नसक्ने होइन । छिमेकको नाताले सघन उठबस त थियो नै । आगोको नजिक घिउ राखेपछि पग्लिन्छ भन्थे त्यही भयो– चाहे आगोको रापले घिउ पग्लेको होस् वा घिउ आगोनजिक राखिएकाले होस् । 

केही कसले कसलाई के गर्‍यो भन्ने आहान हालेर मिलान गर्नं सकिँदैनथ्यो । हुनु भैगो । 

छोरोको अहिलेसम्म पत्तो छैन । बुहारी नाति जन्मेपछि उसै पनि रोगाएकी थिई । छोरो त्यसैले पनि अन्यत्र पल्क्यो होला । फर्केर आएदेखि सुलह गराइदिन सकिन्थ्यो कि ! घनिष्ठ छिमेकी महिलाले पनि त्यही भनी, “मिलाउन सकिन्छ ।” मिलाउनु त मलाई थियो । बुहारी मात्र भएको घरमा म एक्लो ससुरो भएर बस्न सुहाउने भएन । 

मैले रेस्त्राँमै डेरा जमाएजस्तो भयो । महिलासँग नाता जोडेर उसैको घरमा बसूँ भनेपछि छोरो र यिनै छिमेकी महिला, जसले रेस्त्राँ चलाएर प्रतिष्ठित व्यवसायी भएकी छिन्, उनैकी छोरी अवश्य पतिपत्नीका रूपमा फर्कने छन् । सके तिनका एकदुई सन्तान पनि भइसक्ने छन् । 

अनि ? ती त मेरा के भए र रेस्त्राँवाली महिलाका के भए ? म केटाको ससुरो कि बाबु ? अनि महिला केटीकी आमा कि सासू ?

समस्या जटिल छ ।                         

 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०५:२७
प्रतिक्रिया दिनुहोस्