काठमाडौं । ओपनर मार्क वाटको शतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको रवाफिलो जित निकालेको छ ।
शनिबार (मंसिर ६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीको जितमा ओपनर वाटले विस्फोटक ब्याटिङसहित शतकीय इनिङ खेले । दोस्रो संस्करणमा शतक बनाउने पहिलो ब्याटर बनेका वाटले अविजित ११४ रनको योगदान गरे । यसक्रममा उनले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गरे ।
एनपीएल इतिहासमा भने यो दोस्रो शतक हो । पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए ।
वाटले दोस्रो इनिङको छैटौँ ओभरमा जीवनदान पाएका थिए । शेर मल्लले गरेको उक्त ओभरको पाँचौँ बलमा अभिषेश गौतमले वाटको ‘क्याच मिस’ गरेका थिए । त्यति बेला वाट ३९ रनमा खेलिरहेका थिए ।
यस्तै, विलियम बोसिस्टोले २० बलमा दुई चौका र एक छक्कासहित २९ रन थपे । यी दुईले ३८–१ को स्थितिबाट १२३ रनको अविजित साझेदारी गर्दै कर्णालीलाई सहज जितसम्म पुर्याएका हुन् । ओपनर प्रियांक पन्चालले १२ रन जोडे ।
कर्णालीविरुद्ध फितलो बनेको कर्णालीका शेर मल्लले मात्र एक विकेट हासिल गरे ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५६ रन बनाएको थियो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका रोहितले ४३ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।
अन्तिममा आक्रामक ब्याटिङ गरेका रुबेन ट्रम्पेलमनले १४ बलमा एक चौका र तीन छक्कासहित २९ रन थपे ।
जेजे स्मिथले १४ बलमा दुई चौका र एक छक्कासहित २३ र डी‘एर्सी शर्टले १४ बलमा १९ रन जोडे । लुम्बिनीका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
लुम्बिनीविरुद्ध कर्णालीले सात बलर प्रयोग गर्यो । कप्तान नन्दन यादवले दुई विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो, गुल्सन झा, मार्क वाट, विपीन शर्मा र युवराज खत्रीले समान एक विकेट लिए ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो ।