काठमाडौं । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत शनिबार (मंसिर ६) धनुषयज्ञ विधि सम्पन्न भएको छ ।
त्रेतायुगमा तत्कालीन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञाअनुसार भएको मानिने धनुषयज्ञको स्मरणमा प्रत्येक वर्ष विवाहोत्सवअन्तर्गत यो विधि आयोजना गरिँदै आएको छ ।
धनुषयज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान् राम, लक्ष्मण, भरत, शत्रुध्नलगायत सहभागी भएका धार्मिक ग्रन्थमा उल्लेख छ । रामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको वर्णन छ । त्यसपश्चात् मात्र माता सीताको विवाह भगवान् रामसँग भएको वाल्मीकि रामायणमा उल्लेख छ ।
विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन गरिन्छ । दोस्रो दिन फूलबारी लीला सम्पन्न भइसकेको छ ।
चौथो दिन मंसिर ७ गते तिल्कोत्सव, मंसिर ८ गते मटकोर छ । मंसिर ९ गते विवाहपञ्चमीको मुख्य दिन विवाहोत्सव छ । मंसिर १० गते रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ । न्युज एजेन्सी नेपाल