काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ६ दिनमा १० अर्धशतक र एक शतक बनेको छ ।
मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताले शनिबारसम्म आठ खेलको नतिजा पाउँदा आठ ब्याटरबाट अर्धशतक र एक ब्याटरले शतक बनाएका हुन् ।
अर्धशतक बनाउनेमा तीनजना मात्रै नेपालका
प्रतियोगितामा कुल १० अर्धशतक बने पनि नेपालबाट भने तीन ब्याटरले मात्रै एक इनिङमा ५० रन पूरा गरेका छन् । नेपालका कुशल भुर्तेल, लोकेश बम र आसिफ सेखले अर्धशतक बनाएका छन् । यसमध्ये पोखरा एभेन्जर्सका भुर्तेल लगातार दुई खेलमा अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटर हुन् ।
कुशलसँगै चितवन राइनोजका रवि बोपाराले पनि दुई अर्धशतक बनाएका छन् । यसबाहेक, कर्णाली याक्सका प्रियांक पन्चाल, विराटनगर किंग्सका लोकेश बम र मार्टिन गप्टिल, सुदूरपश्चिम रोयल्सका जस ब्रोन र जनकपुर बोल्ट्सका सेखले अर्धशतक बनाएका छन् ।
मार्क वाटको ब्याटबाट शतक
प्रतियोगिताको दोस्रो संस्करणमा ब्याटिङतर्फ विदेशी खेलाडी हावी हुँदा शतक बनाउने एकमात्र हुन्, कर्णाली याक्सका मार्क वाट । प्रतियोगितामा कर्णाली याक्सको प्रतिनिधित्व गरिरहेका वाटले शनिबार (मंसिर ६) लुम्बिनी लायन्सविरुद्ध विस्फोटक शतकीय इनिङ खेलेका थिए । लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक छोएका थिए । उनी एनपीएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटरसमेत हुन् ।
यस्तै, वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । उनीअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए । यसक्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।