site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित आठजना र बोर्डिङ स्कुलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कास्कीको पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासहित आठजना र अञ्जुली बोर्डिङ स्कुल प्रा.लि.विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा पोखरा महानगरपालिका–१ का वडाध्यक्ष एवं पदेन सदस्य साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू बरुणविक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने र नारायणप्रसाद चापागाईं छन् । 

यस्तै, अञ्जुली बोर्डिङ स्कुल प्रा.लि. तथा उक्त प्रा.लि.का सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

सामुदायिक राष्ट्रिय माध्यमिक विद्यालयको भवन कानुनविपरीत निजी बोर्डिङ स्कुललाई भाडामा दिई भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले १५ लाख २९ हजार ४०८ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर गरिएको मुद्दामा उनीहरूसँग १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्