site stats
बाह्रखरी :: Baahrakhari
खेल
तथ्याकंमा एनपीएल–२ : कस्तो रह्यो एक साता ?

काठमाडौं । नेपाली खेलकुदमै पछिल्लो सातायता सबैभन्दा चर्चामा कुनै प्रतियोगिता छ भने, त्यो नेपाल प्रिमियर लिग (एनपीएल) हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणमा पूरा नेपाल झुमिरहेको छ ।

यो प्रतियोगिताको निम्ति कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हजारौँको संख्यामा समर्थक पुगिरहेका छन् ।

मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिताको एक हप्ता नाघिसक्दा आठ खेल भइसकेको छ । जसमा हरेक टिमले कम्तीमा एक खेल र बढीमा तीन खेल खेलिसकेका छन् । 

प्रतियोगितामा साविक विजेता जनकपुर बोल्ट्सले एक खेल मात्र खेलेको छ । हालसम्म दुई खेल खेल्ने टिमहरूमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, लुम्बिनी लायन्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स छन् ।  त्यसैगरी, काठमाण्डू गोर्खाजले तीन खेल खेलिसकेको छ । 

चर्चामा मार्क वाट
एनपीएलले प्रतियोगिताको एक हप्ता छुँदा केही कीर्तिमान आत्मसाथ गरेको छ ।  कर्णाली याक्सका स्कटिस बलर मार्क बाटले आफ्नो खेल जीवनकै पहिलो शतक एनपीएलमा बनाएका छन् । वाटले लिगअन्तर्गत शनिबार सम्पन्न काठमाण्डू गोर्खाजविरुद्ध ४१ बलमा १०० रन पूरा गरेका थिए । 

वाटको यो शतक एपीएलको इतिहासमा दोस्रो शतक हो । योसँगै उनी दोस्रो संस्करणमा शतक प्रहार गर्ने पहिलो र एक मात्र खेलाडी बनेका छन् ।  

सर्वाधिक रन बनाउने खेलाडीमा विदेशी खेलाडीको बर्चस्व
एकमात्र शतकधारी कर्णाली याक्सका मार्क वाट एनपीएलमा हालसम्म सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् । वाटले दुई इनिङमा १३० रन जोडेका छन् । यसक्रममा उनले सात चौका र १२ छक्का प्रहार गरेका छन् । 

चितवन राइनोजका रवि बोपारा एनपीएलमा यो सूचीको दोस्रो स्थानमा छन् । बोपाराले दुई इनिङमा ११८ रन जोडेका छन् । यसक्रममा उनले सात चौका र ६ छक्का प्रहार गरेका छन् ।

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल तेस्रो स्थानमा छन् ।  भुर्तेलले दुई इनिङमा ११२ रन जोडेका छन् । राष्ट्रिय टोलीका समेत सदस्य रहेका भुर्तेलले यसक्रममा नौ चौका र आठ छक्का प्रहार गरेका छन् । 

कर्णाली याक्सका प्रियांक पन्चाल एनपीएलमा हालसम्म  सर्वाधिक रन बनाउने चौथो खेलाडी हुन् । प्रियांकले दुई इनिङमा १०२ रन बनाएका छन् । भारतीय ओपनिङ ब्याटर उनले यसक्रममा आठ चौका र सात छक्का प्रहार गरेका छन् ।   

लुम्बिनी लायन्सका कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेल सर्वाधिक रन बनाउने पाँचौँ खेलाडी हुन् । रोहितले दुई इनिङमा ८८ रन बनाएका छन् । राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका उनले यसक्रममा पाँच चौका र दुई छक्का प्रहार गरेका छन् । 

सबैभन्दा धेरै विकेट लिनेमा करण केसी
एनपीएल दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजका कप्तान तथा मार्की खेलाडी करण केसीले सबैभन्दा धेरै विकेट लिएका छन् । करणले तीन इनिङमा ६ विकेट लिएका छन् । तीन खेलमा ६७ बल फ्याक्दा करणले ८८ रन खर्चिएका छन् । 

काठमाण्डूकै मिलिन्द कुमार यो सूचीको दोस्रो स्थानमा छन् । अमेरिकी अल राउन्डर कुमारले  दुई इनिङमा पाँच विकेट लिएका छन् । यसक्रममा उनले ४८ बलमा ५५ रन खर्चिएका छन् । 

सुदूरपश्चिम रोयल्सका हर्मित सिंह सबैभन्दा धेरै विकेट लिने तेस्रो खेलाडी हुन् । अमेरिकी अलराउन्डर बलर हर्मितले दुई इनिङ खेल्दा चार विकेट लिएका छन् । यसक्रममा हर्मितले ४८ बलमा ४३ रन खर्चिए । 

विराटनगर किंग्सका मर्चेन्ट डे लांगे चौथो सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् । दक्षिण अफ्रिकाका दायाँ हाते बलर लांगेले दुई इनिङ खेल्दा चार विकेट लिएका छन् । यसक्रममा लांगेले ४७ बलमा ६५ रन खर्चिएका छन् । 

यसबाहेक नौ खेलाडीले तीन विकेट लिएका छन् । १६ खेलाडीले दुई विकेट लिएका छन् । र, १७ खेलाडीले एक विकेट लिएका छन् । 

वाट सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी 
कर्णाली याक्सका मार्क वाट एनपीएलमा हालसम्म सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीका रूपमा छन् । उनले दुई इनिङ खेल्दा १२ छक्का प्रहार गरेका छन् । वाटले शनिबार सम्पन्न लुम्बिनी लायन्सविरुद्धको खेलमा शतक प्रहार गर्दा १२ छक्का प्रहार गरेका थिए । 

विराटनगर किंग्सका लोकेश बम सबैभन्दा धेरै छक्का प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनले दुई इनिङ खेल्दा नौ छक्का प्रहार गरेका छन् । पोखरा एभेन्जर्सका भुर्तेल सबैभन्दा धेरै छक्का प्रहार गर्ने तेस्रो खेलाडीका रूपमा छन् । उनले दुई इनिङ खेल्दा आठ छक्का प्रहार गरेका छन् । कर्णाली याक्सका प्रियांक पन्चाल सबैभन्दा धेरै छक्का प्रहार गर्ने चौथो खेलाडी हुन् । उनले दुई इनिङ खेल्दा सात छक्का प्रहार गरेका छन् । 

यसबाहेक चार खेलाडीले ६ छक्का, चार खेलाडीले पाँच छक्का, ६ खेलाडीले तीन छक्का र नौ खेलाडीले दुई चौका प्रहार गरेका छन् । र, १७ खेलाडीले समान एक छक्का प्रहार गरेका छन् । 

यस्तो छ अंक तालिका 
प्रतियोगिताको १० खेल सम्पन्न भइसक्दा विराटनगर चार अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम समान दुई खेलमा समान चार अंक बनाए पनि नेट रनको आधारमा पछाडि छ । विराटनगरको २.०२ नेट रनरेट छ । सुदूरले १.१७ नेट रनरेट बनाएको छ । 

कर्णाली याक्स पनि रन रेटकै आधारमा तेस्रो स्थानमा छ । कर्णालीपछि समान दुई अंक बनाए पनि रनरेटका आधारमा चितवन, काठमाण्डू र लुम्बिनी क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छ । हालसम्म अंकविहीन साविक विजेता जनकपुर सातौँ र पोखरा आठौँ स्थानमा छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्