मकवानपुर । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएका मध्ये २७२ कैदीबन्दी जेलमा फर्किएका छन् । १६८ कैदीबन्दी अझै फरार छन् ।
गएको भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर ४४० कैदीबन्दी फरार भएका थिए । उनीहरूमध्ये मंगलबार (मंसिर ९) बिहानसम्म २७२ जना जेलमा फर्किएका कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए ।
यहाँबाट भागेका मध्ये हालसम्म २७२ र अरू जेलबाट फरार ३७ गरी ३०९ कैदीबन्दी भीमफेदी कारागारमा फर्किएका प्रमुख पौडेलले बताए ।
प्रमुख पौडेलका अनुसार, भागेका मध्ये भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै फरार छन् । फरार हुनेमा ३९ विदेशी कैदीबन्दी थिए । उनीहरूमध्ये १३ कैदीबन्दी कारागारमा फर्किएका र २६ जना अझै फरार छन् ।
कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताए । रासस