site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिदेशीय मैत्रीपूर्ण फुटबल : कहिले छ नेपालको खेल ? कस्ता छन् प्रतिद्वन्द्वी ?
फाइल तस्बिर ।

काठमाडौं । त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका निम्ति इन्डोनेसिया पुगेको नेपाली टोलीले बुधबार (मंसिर १०) आफ्नो पहिलो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा नेपाल र इन्डोनेसियासहित चाइनिज ताइपेईको सहभागिता छ ।

इन्डोनेसियाको योग्यार्टास्थित मागुवोहारजो रंगशाला यो खेल नेपाली समयानुसार अपराह्न ५ बजे सुरु हुनेछ । ‘डिसेम्बर विन्डो’मा नेपालको यो पहिलो मैत्रीपूर्ण खेल हो ।

त्यसपछि नेपालले मंसिर १६ गते चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्ने तालिका छ । चाइनिज ताइपेई फिफा वरीयतामा नेपालभन्दा माथि छ ।

फिफा वरीयतामा चाइनिज ताइपेई ४२औँ स्थानमा छ । नेपाल ८९औँ र इन्डोनेसिया १०६औँ स्थानमा छ । 

नेपालले यसअघि अक्टोबर विन्डोमा भारतमा घरेलु टोली र इरान समिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेलेको थियो । मैत्रीपूर्ण फुटबलका निम्ति नवीन न्यौपानेको मुख्य प्रशिक्षकत्वमा २३ सदस्य राष्ट्रिय टोली घोषणा गरिएको थियो ।

किन उपस्थित भएनन् ‘साम्बा’ र गीता ?
प्रतियोगिताका निम्ति इन्डोनेसिया पुगेको नेपाली टोलीमा नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र रक्षक गीता राना उपस्थित छैनन् । यी दुवै खेलाडी घाइते रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

साम्बा अस्ट्रेलियन शीर्ष डिभिजन लिगको क्लब वेलिंग्टन फोनेक्समा आबद्ध छिन् । लिगका दौरान घाइते भएपछि साम्बा मैत्रीपूर्ण फुटबल खेल्न नआउने मुख्य प्रशिक्षक न्यौपानेले बताइसकेका छन् । रक्षक गीता पनि चोटकै कारण टिममा नअटाएकी हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्