काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगन्जस्थित इलाका प्रशासन कार्यालय (इप्रका)का तत्कालीन प्रमुख चूडामणि आपगाईंसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले सेवाग्राहीसँग घुस लिएर उमेर गडबढ गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको आरोपसहित अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा इप्रका झापामा कार्यरत तत्कालीन नायब सुब्बा रविन कुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहाल छन् ।
यस्तै, तत्कालीन प्रशासकीय अधिकृतहरू लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल, राहदानीवाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतोविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
कार्यालयका कर्मचारीले राहदानीमा उमेर घटाए वा बढाएबापत अनलाइन रकम असुल गरी पासपोर्ट सिफारिस गर्ने गरेको र कसैलाई उक्त रकम लिएको कुरा भनेमा विभागमार्फत राहदानी ब्लक गरिदिने धम्कीसमेत दिने गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरू उमेर घटबढ गरी पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको भेटिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर मुद्दामा उनीहरूलाई कैद र जरिवानको सजाय मागदाबी गरिएको छ ।