विराटनगर । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनर्स्थापित हुन सक्ने बताएका छन् ।
मंगलबार (मंसिर ९) जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको कोसी प्रदेशसभा भवन निरीक्षण गर्दै घिमिरेले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा अहिले विघटन भएजसरी हुने परिकल्पना नरहेको र संविधानअनुसार संसद्बाहिरबाट प्रधानमन्त्री बनाउने ठाउँ नै नरहेको तर्क पनि गरे ।
उनले भने, ‘‘यो विषय अब न्यायालयमा गएको छ, ठीक ढंगबाट न्याय हुन सक्यो भने प्रतिनिधिसभा पुनर्स्थापित हुन्छ ।”
कोसीका सभामुख अम्बरबहादुर विष्टले आगजनीबाट भएको क्षतिबारे घिमिरेलाई जानकारी गराएका थिए ।
सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतमा समेत लिखित जवाफ पठाएका छन् ।
प्रदेशसभा भवन देवकोटा चोक र अस्पताल चोकको बीचमा छ । भवन संरचना जलेर पुन प्रयोग गर्न नमिल्ने भएपछि प्रदेशसभा भवन र सचिवालय कटहरी गाउँपालिका–१ मा रहेको तरकारी बजारमा सरेको छ ।
साथै, घिमिरले मोरङको कटहरीस्थित कृषि थोक बजारमा निर्माणाधीन प्रदेशसभा सचिवालयको पनि निरीक्षण गरेका छन् ।