site stats
बाह्रखरी :: Baahrakhari
खेल
काठमाण्डूलाई राहत, दबाबमा लुम्बिनी

काठमाडौं । गत संस्करण तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको लुम्बिनी लायन्सको प्रदर्शन यो सिजन पनि लड्खडाउँदो छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाजविरुद्ध लुम्बिनीको प्रदर्शन उस्तै निराशजनक रह्यो । 

काठमाण्डूले टस हारेपछि पहिले ब्याटिङ गर्दै दिएको १५८ रनको लक्ष्य पक्कै पनि मध्यम थिएन । पिचअनुसार ठूलो लक्ष्य पनि थिएन । तर, दोस्रो इनिङमा काठमाण्डूका बलर हावी बन्दा निर्धारित २० ओभर ब्याटिङ गरे पनि लुम्बिनी १३५ रनमै समेटियो । काठमाण्डू २२ रनले विजयी बन्यो । 

“पहिलो इनिङमा बलिङ गर्दा विकेट राम्रै लागेको थियो । लक्ष्य भेट्टाउन सकिन्थ्यो । दुई–तीन विकेट सामान्य तरिकाले गयो । त्यसले गर्दा नै हामी चुक्यौँ,” खेलपछि सञ्चारकर्मीसँगको सवाल–जवाफमा लुम्बिनीका अलराउन्डर शेर मल्लले पनि हारको कारण विकेट नभएको प्रस्ट पारे ।

odmgd-1764068496.jpg
एकै ओभरमा ३१ रन 
काठमाण्डूको जितमा नायक बनेका मार्की तथा कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरे । बलिङमा पनि एक विकेट हात पारेका करण ‘खेलको प्लेयर अफ दी म्याच’ चुनिए । 

करण पहिलो इनिङको नवौँ नम्बरमा ब्याटिङमा आएका थिए । करण क्रिजमा ओर्लिंदा काठमाण्डू १७.४ ओभरमा ११७–७ को कठिन स्थितिमा थियो । तर, करणले कप्तानी जिम्मेवारी निर्वाह गरे । क्रिजमा प्रवेश गरेदेखि नै विस्फोटक ब्याटिङ गरेका करणले ११ बलमा ३४ रन प्रहार गरे । एक चौका र चार छक्का प्रहार गर्दा करणको स्ट्राइक रेट ३०९ को रह्यो । करणकै विस्फोटक ब्याटिङमा काठमाण्डू १५७ रनको चुनौतीपूर्ण योगफलसम्म पुग्यो ।

fdg-1764094368.jpg
करणले रुबेन ट्रम्पेलमनले गरेको १९औँ ओभरमा ३० रन प्रहार गरे । यो ओभरको पहिलो बलमै छक्का प्रहार गरेका करण कुल पाँच बाउन्ड्री हिर्काए । उक्त ओभरको दोस्रो बल चौका हुँदा अम्पायरले ‘नो बल’ को इसारा गरेपछि करणले एक अतिरिक्त बल पाएका थिए ।

ओभरको एक बलमै ११ रनपछि करणले दोस्रो बलमा फेरि छक्का प्रहार गरे । तेस्रो बल पनि ६ रनकै निम्ति बाउन्ड्री पार गराए । चौथो बल ‘लेग बाई’ हुँदा करण एक रनका निम्ति दौडिए । पाँचौँ बलमा स्ट्राइकमा आएका आदील अन्सारीले एक रन लिए । छैटौँ बलमा फेरि स्ट्राइकमा आएका करणले छक्का प्रहार गरेपछि यो ओभरमा काठमाण्डूले कुल ३१ रन जोडेको थियो । जसमध्ये ३० रन करणको ब्याटबाट निस्कियो ।

काठमाण्डूलाई राहत
लुम्बिनीसँगको जितले काठमाण्डूलाई निकै राहत दिएको छ । नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देसाईले दिशानिर्देश गरिरहेको भए पनि काठमाण्डू लयका निम्ति संघर्षरत थियो । पहिलो खेलमा साविक विजेतालाई पाँच विकेटले हराउँदा मोन्टी मन्त्र ‘वान गेम एट अ टाइम’ (एक पटकमा एकमात्र खेल) को चर्चा उच्च थियो । त्यसपछिका दुई खेलमा लगातार हारले काठमाण्डूमाथि चर्को दबाब थप्यो । काठमाण्डू दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ र तेस्रो खेलमा विराटनगर किंग्ससँग पाँच विकेटले पराजित भएको थियो । 

kathmandu-1764078075.jpg
“प्रतियोगिताको सुरुआत राम्रो थियो । तर, त्यसपछिका दुई खेल हाम्रो पक्षमा आएन । तर आज राम्रो भयो,” लुम्बिनीविरुद्ध ३२ रन बनाएका ओपनर आकाश त्रिपाठीले जितपछि भने ।

दबाबमा लुम्बिनी
गत सिजन सातमध्ये ६ खेलमा हार बेहोर्दै अंकतालिकाको पुछारमा रहेर प्रतियोगिता अन्त्य गरेको टिम हो लुम्बिनी । गत सिजनको खराब लयलाई मेटाउने प्रयास लुम्बिनीले नगरेको पनि हैन । पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जितसहित लुम्बिनीले दोस्रो संस्करणको सुरुआत गरेको थियो । तर, त्यसपछिका दुई खेलमा लगातार बेहोरेको हारले फेरि रोहितकुमार पौडेलको कप्तानीमा रहेको यो टिममाथि दबाब थपेको छ । लुम्बिनीले आफ्नो दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको फराकिलो हार बेहोरेको थियो ।

तर, काठमाण्डूविरुद्ध लुम्बिनीबाट एक्लो प्रयास गरेका शेर मल्लले भने आफ्नो टिम दबाबमा रहेको भन्न रुचाएनन् ।

“तीन खेलपछि नै केही भनिहाल्न मिल्दैन । प्रतियोगिता अझै बाँकी छ । शीर्ष चारको लक्ष्य छ । अर्को खेल जित्नेछौँ,” काठमाण्डूविरुद्ध लुम्बिनीबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका उनले भने । 

lgumbini-1764074419.jpg
शेरले १८ बलमा तीन छक्का प्रहार गरे । टिमले आठ विकेट गुमाइसकेको भए पनि उनले १७औँ ओभरमा काठमाण्डूका साहब आलमलाई लगातार तीन छक्का प्रहार गर्दै लुम्बिनीका इनिङलाई लम्ब्याउने प्रयास गरेका थिए । उक्त ओभरको तेस्रो, चौथो र पाँचौँ गरी लगातार तीन बल शेरले ६ रनका निम्ति सिमारेखा कटाएका थिए । तर, १८औँ ओभरको पहिलो बलमा दुई रन लिँदा शेरलाई काठमाण्डूका भीम सार्कीले विकेटकिपर बेन चाल्सवर्थबाट रनआउट गराए । शेरले क्रिज छोड्दा लुम्बिनी १२६–९ को स्थितिमा थियो । यसपछि लुम्बिनीले स्कोरबोर्डमा नौ रन थप्दा १०औँ विकेट गुमायो । 

खेलपछि ‘तपाईं रनआउट नहुनु भएको भए नतिजा फरक हुन सक्थ्यो ?’ भन्ने प्रश्नमा शेरले भने, “अरु तीन–चार छक्का हान्नु छ भन्ने मानसिकता बनाएको थिए, रनआउट नभएको भए जिताउँछु भन्ने आत्मविश्वास थियो ।”

 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०५:५२
प्रतिक्रिया दिनुहोस्