site stats
बाह्रखरी :: Baahrakhari
देश
‘अवैध धन्दा’का लागि पनि श्रम स्वीकृति !

काठमाडौं । दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमार, थाइल्यान्ड, लाओस र कम्बोडियामा ‘अवैध धन्दा’मा संलग्न नेपाली श्रम स्वीकृति लिएर गएको पाइएको छ । उनीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको देखिएको छ ।

उनीहरूले विभागबाट व्यक्तिगत श्रम स्वीकृति लिँदै म्यानमार, थाइल्यान्ड, लाओस र कम्बोडिया पुगी अवैध धन्दामा लागेको देखिएको हो ।

पछिल्ला वर्षमा एजेन्टहरूले रोजगारीको प्रलोभन देखाई ठूलो संख्यामा नेपालीलाई म्यानमार, थाइल्यान्ड, लाओस र कम्बोडिया पुर्‍याउने गरेका छन् । कतिपय आफूखुसी र कतिपय एजेन्टको दबाबमा जबर्रजस्ती अवैध धन्दामा लगाइने गरेको पाइएको छ ।

“म्यानमार र थाइल्यान्डका हाम्रा दूतावासले त्यहाँबाट जति पनि नेपालीलाई उद्धार गरी पठाएको छ, उनीहरू वैदेशिक रोजगार विभागबाट व्यक्तिगत श्रम स्वीकृति लिएर गएको देखिन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो । 

म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले आर्थिक वर्ष २०७९/८० देखि हालसम्म ती देशबाट तीन सयभन्दा बढी नेपालीलाई उद्धार गरी नेपाल पठाएको छ । 

२०८२ वैशाख १ गतेयता मात्र थाइल्याण्डस्थित नेपाली दूतावासले ६७ जना नेपालीलाई उद्धार गरी नेपाल पठाएको छ । 

तिनीहरू अधिकांश आकर्षक रोजगारीको प्रलोभनमा परी ती देशमा पुगेको र अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायतका काममा संलग्न भएका थिए । 

म्यानमारको म्यावडीमा थप २३ जना, थाइल्याण्डको मेसोटमा दुईजना र कम्बोडियामा चारजना गरी २९ जना नेपालीलाई नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया र थाइल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ । 

“वैदेशिक रोजगारीका लागि खुला गरिएको राष्ट्रमा हामीले श्रम स्वीकृति दिनुपर्छ । त्यहीअनुसार श्रम स्वीकृति दिइएको छ,” वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटीले बाह्रखरीसँग भने, “हालसम्म म्यानमार, थाइल्यान्ड, लाओस र कम्बोडियाबाट फर्केकाले हामी ठगियौं भनेर उजुरी दिन कोही आएको छैन ।” 

व्यक्तिगत श्रम स्वीकृति लिनेहरू कस्तो कम्पनीमा कार्य गर्न जाँदैछन् भन्ने विभागले कुनै ख्याल नगरेको देखिन्छ ।  जसका कारण ठूलो संख्यामा नेपाली म्यानमार, थाइल्यान्ड, लाओस र कम्बोडिया पुगेपछि ठगी धन्दामा लाग्नुपरेको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार, पछिल्लो चार वर्ष चार महिनाको अवधिमा सात सय २७ जना नेपाली विभागबाट व्यक्तिगत श्रम स्वीकृति लिएर म्यानमार, थाइल्याण्ड, लाओस र कम्बोडिया गएको देखिन्छ । 

२०७८ साउन १ गतेदेखि २०८२ कात्तिक मसान्तसम्मको अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिएर ४१२ जना कम्बोडिया, २३३ जना थाइल्याण्ड, ७३ जना लाओस र पाँचजना म्यानमार गएको विभागको तथ्याङ्कले देखाउँछ ।

थाइल्यान्ड, लाओस र कम्बोडियाका कप्पनीमा काम गर्न जाने भन्दै श्रम स्वीकृति लिएर जानेहरू पनि म्यानमार पुग्ने गरेको पाइएको छ । 

म्यानमारको म्यावडीबाट मात्र पछिल्लो तीन वर्ष चार महिनाको अवधिमा २६४ जना नेपालीलाई उद्धार गरी नेपाल पठाउनु परेको थियो । उनीहरू सबैलाई त्यहाँ अवैध धन्दा (ठगी) मा लगाइएको थियो । 

पछिल्लो चार वर्ष चार महिनाको अवधिमा श्रम स्वीकृति लिएर मात्र पाँचजना नेपाली गएको म्यानमारबाट तीन वर्ष चार महिनाको अवधिमा २६४ जना नेपालीको उद्धार गर्नुपरेको छ । 

यसले स्पष्टरूपमा कम्बोडिया, थाइल्यान्ड र लाओस हुँदै नेपालीलाई म्यानमारको म्यावडी पुर्‍याएको देखाउँछ । 

“म्यानमार सरकारका अनुसार म्यावडीमा जति पनि विदेशीलाई अवैध धन्दामा लगाइएको छ, तीमध्ये ९९ प्रतिशत थाइल्यान्डको बैंकक हुँदै आएका हुन्,” म्यानमारका लागि नेपाली राजदूत हरिषचन्द्र घिमिरेले जनाए ।

विभागको तथ्याङ्क अनुसार, व्यक्तिगत श्रम स्वीकृति लिएर आर्थिक वर्ष २०७८/७९ मा ८७ जना, २०७९/८० मा ११५ जना, २०८०/८१ मा १४७ जना, २०८१/८२ मा २७९ जना र चालु आर्थिक वर्ष २०८२/८४ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) ९५ जना नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर कम्बोडिया, लाओस, म्यानमार  र थाइल्यान्ड गएका छन् । 

पछिल्ला वर्षको तथ्याङ्कले व्यक्तिगत श्रम स्वीकृति लिएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जाने नेपालीको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ ।

मानव तस्करको प्रलोभनमा परी पहिलो पटक २०७९ मंसिर महिनामा नेपाली युवाहरूको एउटा समूह म्यानमार पुगी अलपत्र परेको थियो । 

वैदेशिक रोजगारीका लागि म्यानमार पुगी अलपत्र परेको त्यो पहिलो घटना थियो । त्यसपछि एजेन्टहरूले नेपालीलाई म्यानमार, थाइल्यान्ड, कम्बोडिया र लाओस पुर्‍याउने गरेको थाहा भएको थियो । 

यसरी म्यानमार पुगेर नेपाली ठगिएको घटना बाहिर आएपछि म्यानमारस्थित नेपाली दूतावासले पीडितहरूसँग भेट्ने, उनीहरूलाई उद्धार गरी नेपाल पठाउने कार्य गरेको थियो । त्यसपछि दूतावासले २०७९ पुस २६ गते एउटा विज्ञप्ति जारी गर्दै मानव तस्करको प्रलोभनमा परी म्यानमार नआउन अनुरोध गरेको थियो । 

थाइल्याण्डस्थित नेपाली दूतावासले पनि पटक–पटक सूचना जारी गरी कसैको प्रलोभनमा परी थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओस नआउन अनुरोध गर्दै आएको छ । 

दूतावासहरूले नआउन अनुरोध गरे पनि न त विभागले सोच विचार गरेर श्रम स्वीकृति दिन रोकेको छ न जानेहरू नै रोकिएका छन् ।  यसरी थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओस नेपाली पुगी अलपत्र पर्दा त्यहाँ रहेका दूतावासलाई भने उनीहरूलाई उद्धार गरी नेपाल पठाउन भ्याइ नभ्याइ भएको छ । 
 

 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्