काठमाडौं । चितवन राइनोजका बलर रञ्जित कुमारले विराटनगर किंग्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न आत्मविश्वासले महत्त्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन् ।
बुधबार नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा रञ्जितले पाँच विकेट दिलाएपछि चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको थियो । यही खेलमा आफू टिमलाई जिताउने लक्ष्यका साथ मैदान उत्रिएको जनाउँदै रञ्जितले आफ्नो प्रदर्शनमा आत्मविश्वासले महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
“मलाई टिमले सुरुआती समयदेखि आत्मविश्वासका साथ खेल्न सुझाव दिएको थियो । मनमा आज मेरो दिन हो भन्ने भावना अइरहेको थियो । मैले आज जसरी भए पनि टिमलाई जिताउँछु भनेर सोचेको थिए,” रञ्जितले भने ।
बुधबार रञ्जितले चितवनको जितमा विराटनगरका नरेन भट्ट, साम हेजलेट, बसिर अहमद, नारायण जोशी र सूर्य तामाङको विकेट लिएका थिए । रञ्जितले चार ओभर बलिङ गर्दा २१ रन मात्र खर्चिएका थिए । उनी चितवनले यस वर्ष रिटेन गरेका खेलाडी हुन् ।
यो जितसँगै चितवन चार अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।