काठमाडौं । अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’लाई आगामी पुस १७ गते (सन् २०२६ जनवरी १)बाट कार्यान्वयनमा ल्याउने भएको छ ।
अध्यागमन विभागले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । यसअघि २०८२ असोज १ गतेबाट कार्यान्वयनमा ल्याइने भनिएको उक्त प्रणाली जेनजी प्रदर्शनका कारण रोकिएको थियो ।
“उक्त प्रणाली २०८२ असोज १ देखि लागू गर्ने गरी कार्य योजना तयार पारिएकामा मुलुकमा विकसित पछिल्लो घटनाक्रमका कारण कार्यान्वयन हुन नसकेको हुँदा २०८२ पुस १७ देखि अनिवार्य रूपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ,” विभागको विज्ञप्तिमा भनिएको छ ।
यस प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसाइ तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राखिने विभागले जनाएको छ । प्रणालीका कारण आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ ।
“सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदानप्रदानको प्रक्रियालाई सरल र प्रभावकारी बनाई पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
यस प्रणालीलाई पहिलो चरणमा पुस १७ देखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य लागु गरिनेछ ।
दोस्रो चरणमा फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जरहरूमा र क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा समेत लागु गरिने विभागले जनाएको छ ।
“विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवं निजी कम्पनीलाई यस प्रणालीमा अनिवार्य आबद्ध हुन अनुरोध गरिन्छ,” विभागले भनेको छ ।
उक्त प्रणालीको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई पत्राचार गरिसकिएको विभागको भनाइ छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन हुने पनि विभागले जनाएको छ ।
“मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि, पर्यटन तथा वैदेशिक लगानी प्रबद्र्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधि राज्यको जानकारीमा रहनुपर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पक्ष राष्ट्र भएका धेरै अन्तराष्ट्रिय कानुन र प्रबन्धहरूले सबै सदस्य राष्ट्रहरूलाई अध्यागमनसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने दायित्व सिर्जना गरेको विभागले जनाएको छ ।
यस्ता अन्तर्राष्ट्रिय दायित्व र प्रतिबद्धताप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धन सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली विकास गरेको बताएको छ ।