काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्य गर्दा उनीहरूले २९ लाख ४४ हजार १३७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा कमला नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल संजिवकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, तत्कालीन कार्यापालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मिया मोमिन छन् ।
यस्तै, ईन्फ्रास्ट्रक्चर एस एन्ड बी विल्डर्स प्रा.लि. र उक्त कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा न्यूनतम कबोल गर्ने फर्मसँग सम्झौता नगरी दोस्रो प्रस्ताव दातासँग मिलेमतोमा सम्झौता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरूले २९ लाख ४४ हजार १३७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।