काठमाडौं । पोखरा एभेन्जर्ससँगको हारपछि जनकपुर बोल्ट्सका कप्तान अनिल साहले ब्याटिङ चल्न नसक्दा राम्रो नतिजा आउन नसकेको बताएका छन् ।
लगातार तेस्रो हारपछि कप्तान अनिलले राम्रो सुरुआत नहुनु र ब्याटिङ चल्न नसक्दा हार व्यहोर्नुपरेको बताए । उनले अझै चार खेल बाँकी रहेकाले तेस्रो र चौथो स्थानका लागि सकारात्मक रहेको पनि उल्लेख गरे ।
वाइने पर्नेलको ब्याटिङ र बलिङमा राम्रो हुनु आजको खेलमा सकारात्मक पक्ष रहेको उनको भनाइ छ । विकेट ट्रिकी भएर ब्याटिङ गर्न सहज नरहेको उनले बताएका छन् । कप्तानको रूपमा आफ्नो भूमिका निभाउने प्रयास गरे पनि राम्रो ब्याटिङ गर्न नसकिएको उनले बताए ।
आफ्नो प्रदर्शन राम्रो नभएकाले अन्य खेलाडीलाई माथि पठाए पनि त्यो योजनाले पनि काम नगरेको उनको भनाइ छ । उनले राम्रो साझेदारी बन्न नसक्दा टोलीले जित निकाल्न नसकेको उल्लेख गरे ।
पोखराका बलर विपिन खत्रीले मिडल अर्डर छिटै गए पनि राम्रो फिनिस गर्न सक्दा राम्रो योगफल जोड्न सकिएको बताए । पिचमा स्पिनरलाई मद्दत मिल्ने खालको रहेको र त्यहीअनुरूप आफूले बलिङ गर्दा विकेट निस्किएको उनले उल्लेख गरे ।
पहिलो दुई विकेट आएपछि विपक्षी टोली ब्याक फुटमा गएकाले त्यो विकेट महत्त्वपूर्ण रहेको उनी बताउँछन् । उनले आज पहिलो जितको खोजीमा रहेकाले सफलता पाउँदा खुसी रहेको धारणा राखे ।
एउटा टिमका रूपमा सबैले खेल्दा पहिलो जित सम्भव भएको उनी बताउँछन् । यो पिच ब्याटिङ गर्न सहज नभएकाले बोर्डमा बनेको रन भेट्टाउन सहज नरहेको उनको भनाइ छ । पछि ब्याटिङ गर्दा डट बलमा दबाब बनाउने सकिने विश्वाससहित पोखराले पहिले ब्याटिङ गर्ने निर्णय गरेको उनले उल्लेख गरे । सोहीअनुरूप नतिजा पनि आएको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल