site stats
बाह्रखरी :: Baahrakhari
खेल
साविक विजेताको ‘गौरव’बाट संकटतिर जनकपुर बोल्ट्स

काठमाडौं । “ब्याटिङ चलिरहेको छैन,” साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो हार व्यहोरेपछि कप्तान अनिल साहले सुरुमै प्रष्टिकरण दिए । 

प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा जनकपुरलाई पोखरा एभेन्जर्सले २५ रनले निराश बनायो । लगातारको यो तेस्रो हारसँगै जनकपुरको लयप्रति अनगिन्ती प्रश्न उठेका छन् ।  

‘टिमको माहोल कस्तो छ ?’ प्रश्नमा अनिल केही मुस्कुराए र भने, “ठिक छ, हामी सकारात्मक थियौँ । पहिलो इनिङसम्म सबै ठिक थियो । ब्याटिङमा शीर्ष क्रमबाट जस्तो सुरुआत हुनुपर्ने थियो, त्यस्तो भइरहेको छैन ।”

‘अब कसरी अघि बढ्नुहुन्छ ?’ लगत्तै अर्को प्रश्न थपियो । जसलाई अनिलले यसरी सम्बोधन गरे, “सकारात्मक बस्नुपर्छ । अझै चार खेल बाँकी छन् । गत वर्ष पाँच खेल जित्दा शीर्ष दुई भएका थियौँ, यसपटक अझै चार खेल बाँकी छ ।”

पहिलो सिजनको च्याम्पियनले दोस्रो संस्करणका लगातार तीन खेलमा हार व्यहोर्नुले यी प्रश्न उठ्नु स्वभाविक पनि हो । त्यसै पनि दोस्रो संस्करणका यी तीनै खेलमा जनकपुरको ब्याटिङ सन्तोषजनकसम्म देखिँदैन ।

आसिफ सेख मार्की र अनिलको कप्तानीमा रहेको यो टिमले पछिल्लो तीन खेलमा बनाएको सबैभन्दा ठूलो स्कोर नै १३१ रन हो, पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध । जनकपुरले दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध दोस्रो इनिङमा १२६ रनमात्र बनाएको थियो । यी दुई खेलमा जनकपुर क्रमशः पाँच विकेट र नौ रनले परास्त भयो । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न आफ्नो तेस्रो खेलमा पनि जनकपुरले १३१ रनको ‘डेडलक’ तोड्न सकेन । 

दोस्रो इनिङमा पोखराले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले २० ओभर नै ब्याटिङ गर्दा पनि १३० रनमात्र बनाउन सक्यो । लगातार तेस्रो हारले जनकपुरको प्लेअफ समीकरणलाई निक्कै कठिन बनाएको छ ।

शीर्षक्रम ‘कोल्याप्स’
प्रतियोगितामा जनकपुरले तीन खेल खेल्दा ओपनर आसिफ सेख टोलीबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर हुन् । उनले तीन इनिङमा एक अर्धशतकसहित ६७ रन बनाएका छन् । 

तर, सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा हेर्दा आसिफ २२औँ स्थानमा छन् । आसिफपछि रहेका वायन पार्नेलले एक अर्धशतकसहित ५० रन बनाएका छन् । पोखराविरुद्ध नै पहिलोपटक जनकपुरको जर्सीमा उत्रिएका पार्नेलले ५० रन बनाएका थिए । अझ रोमाञ्चक पक्ष पार्नेल सदावहार ब्याटर पनि हैनन् । आक्कल–झुक्कल ब्याटिङ गर्ने पार्नेल बलिङका निम्ति चर्चित दक्षिण अफ्रिकी अनुहार हुन् । 

पहिलो खेलमा काठमाण्डूविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका आसिफ त्यसयताका दुई खेलमा १३ र ‘गोल्डेन डक’ भए । 

कप्तान अनिल साहको प्रदर्शन झनै निराशाजनक छ । साविक विजेताको नेतृत्व थामिरहेका अनिलले पछिल्लो तीन खेलमा पाँच रनमात्र जोडेका छन् । 

अनिल पहिलो खेलमा काठमाण्डूविरुद्ध ‘डक’, दोस्रो खेलमा विराटनगरविरुद्ध चार (अहिलेसम्मको उच्च स्कोर) र पोखराविरुद्ध एक रनमा आउट भएका छन् ।

जनकपुरबाट ब्याटिङ अनिलको भन्दा राम्रो प्रदर्शन स्पिनर ललितनारायण राजवंशीको छ । ललितले तीनमध्ये दुई खेलमा ब्याटिङ गर्दा १५ रन बनाएका छन् ।

विदेशी खेलाडीमा नामिबियाका अलराउन्डर जान निकोल लोफ्टी इटोनले तीन खेलमा ४५ र अमेरिकाका सञ्जय कृष्णमुर्थीले ४२ रन बनाएका छन् । 

पोखराविरुद्ध मौका नपाएका शीर्षक्रमका अर्का चर्चित ब्याटर लहिरु मिलान्थाले दुई इनिङमा ३० रनमात्र जोडेका छन् । मिलान्थाको स्थानमा पोखराविरुद्ध पाकिस्तानका माज सादाकतले मौका पाउँदा १४ बलमा एक चौका र दुई छक्कासहित २० रन जोडे ।

अनिललाई ब्याटिङबारे ‘शीर्षक्रम कोल्याप्स नै भयो भन्ने लाग्छ । कारण के हो जस्तो लाग्छ ?’ भन्ने प्रश्न थियो । ब्याटिङबारे लगातार प्रश्न बढ्दै गएपछि मलिन बनेका अनिलले जवाफमा भने, “मानसिकता नै सबैकुरा हो । खै ! हार्दै गएपछि ब्याटरहरू आफैमा शंका उब्जिन थाल्छ ।”

अर्को प्रश्न अनिलले आफ्नै निराशजनक प्रदर्शनबारे खेपे । ‘तपाईंले आफ्नो खेलको समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?’ जवाफमा उही निराशासहित अनिलले भने, “मैले कसरी गर्नु ! तपाईंहरू नै केही सल्लाह दिनुस् न । म आफ्नो तर्फबाट प्रयास गरिरहेकै छु ।”

पोखराको लय 
बिहीबारको दोस्रो खेलमा जनकपुर र पोखरा दुवै उस्तै दबाबमा थिए । ब्याटिङ राम्रो रहे पनि यसअघिका दुई खेलमा लगातार हार व्यहोर्दा पोखरा पनि उस्तै दबाबमा थियो । तर, जनकपुरसँगको जितले भने पोखरालाई केही राहत दिएको छ । 

“खुसी छौँ आजको जितबाट । ब्याटिङ र बलिङ दुवैमा राम्रो भयो । दोस्रो इनिङमा पावर प्लेमै विपक्षीलाई दबाबमा राख्न सक्यौँ । त्यही दबाबले नै हामीलाई जितसम्म डोर्‍यायो,” पोखराको जितमा बलिङतर्फ नायक बनेका विपीन खत्रीले भने । जनकपुरको ब्याटिङ लाइन ध्वस्त बनाउन विपीनले चार ओभरमा १५ रनमात्र खर्चिएर चार विकेट नै लिए ।

यो जितसँगै पोखराले हारको ‘डेडलक’ तोड्दा जनकपुर भने साविक विजेताको ‘गौरव’बाट संकटतिर धकेलिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०५:२९
प्रतिक्रिया दिनुहोस्