विराटनगर । लामो समयदेखि अवरुद्ध कटहरी–रंगेली हुलाकी सडकखण्ड कालोपत्र गर्न सुरु गरिएको छ । शुक्रबारदेखि कटहरी–रामचोक खण्डको बीच भागमा कालोपत्र सुरु गरिएको हो ।
रंगेली हुँदै गौरीगन्ज जोड्ने सडकको धेरै भाग यसअघि नै पूरा भइसकेको छ । कटहरीदेखि रामचोकसम्म करिब पाँच किलोमिटर खण्डको काम अलपत्र थियो । यसको निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयले कयौंपटक आन्दोलन र सडक धर्ना बसेका थिए ।
सिंघिया खोलादेखि नयाँ बजारसम्मको सडक निर्माण ६ वर्ष बित्दा २७ प्रतिशत मात्रै प्रगति भएको थियो । त्यसपछि स्थानीयको दबाबमा जिल्ला प्रशासन कार्यालयले ठेक्का तोड्न सिफारिस गरेको थियो ।
२०७६ सालमा गजुरमुखी–श्रेष्ठ कन्स्ट्रक्सनले तीन अर्ब ६० करोडमा रतुवा खोलादेखि केसलिया खोलासम्मको ४४ किलोमिटर सडक चार लेनमा निर्माण गर्ने ठेक्का लिएका थिए । तर, कटहरी खण्डको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सनले काममा बेवास्ता गर्दा काम सुस्त भएको थियो ।
कटहरी खण्डको सम्झौता २०७६ कात्तिक २४ मा भएको थियो भने निर्माण सम्पन्न २०७९ कात्तिक २३ मा सकिनुपर्ने थियो । तर, समयमै काम नहुँदा दुईपटकसम्म म्याद थपिएको थियो ।
दोस्रो म्याद पनि २०८२ जेठ मसान्तमा सकिएको थियो । हुलाकी सडक आयोजनाले काम सुचारु गर्न दबाब बढाएसँगै काम पुनः सुरु भएको बताइएको छ ।
कटहरी गाउँपालिका–२ का पूर्ववडाअध्यक्ष किशोर पाण्डेले सडकको काम पुनः सुरु हुनु खुसीको विषय भएको बताए ।
केही समयअघि मात्र सर्वदलीय बैठक आयोजना भई ठेक्का खारेज गरी नयाँ प्रक्रिया थाल्न माग गरिएको थियो ।