site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मौनको विस्फोटसँगै वाणी बनेका कविता

बिसुकुमार केसी, झट्ट देख्दा कालेकाले बान्कीको । नामै प्यारोप्यारो । कताकता यशोदाको कन्हैयाजस्तो । घडी दुई घडी सँगै बसेर कफीमा गफिन मन लाग्दो । हँसिलो बिसु । 

बिसुको वास्तविक नाम सायद विष्णु, विश्वेश्वर या विश्वनाथ हो कि ! उनको जन्म बिसु (नयाँ वर्षको प्रथम दिवस) कै दिनमा भएको हुनाले नामै बिसु रहन गएको हो कि ! 

अथवा शैशव र बाल्यकालमा मायाले ‘बिसु’ भन्दाभन्दै सधैँका लागि बिसु भएको पो हो कि ! जे होस्, बिसु प्रथम दृष्टिमै झन्डैझन्डै कविजस्तै प्रतीत भएका थिए मलाई ।  

यथार्थमै कवि हुन् भन्ने जान्नासाथ महसुस भयो, बिसु अरू तमाम साथीहरूमाझ विशेष हो । गुण, धर्म र परिमाण आदिमा जो अरूभन्दा उम्दा हुन्छ, त्यही नै विशेष हुन्छ । 

बिसु विशेष छन् । किनकि उनी कवि हुनुका नाताले करुणाले सिक्त र कोमल भावले युक्त मज्जाका मान्छे हुन् । 

सुरुमा भेट हुँदा विनम्र उपस्थित भएका थिए उनी । पहिलो परिचयमै यो मान्छे गतिलो छ कि जस्तो लागेथ्यो । उनी गएपछि फेरि कसैले भन्यो, “यो मान्छे त कवि पनि हो नि !” 

लाग्यो, यदि कवि हो भने छातीभित्र पनि कवि नै बस्छ होला । 

तर, यो त एउटा निजामती कर्मचारी हो । कतै बनावटी कवि पो हो कि ! आडम्बरी पो हो कि ! सङ्गत गर्दै जाँदा थाहा भयो, बिसु साँचो अर्थमा विनम्र रहेछन् । नम्रताको अलङ्कार पहिरेर हिँड्ने ‘निजामती कवि !’ 

आफूलाई सानो प्रस्तुत गरेर अरूको हृदयमा ठूलो ठाउँ ओगट्ने मृदुल मान्छे । मनभित्र कतै श्रद्धापूर्ण माया लागेर आयो । बिसुलाई चिन्छु भन्दा आफ्नो पनि महत्ता कायम भएझैँ महसुस हुन थाल्यो ।

कविता त्यो होइन, जो एउटा कविलाई अनायास फुर्दछ । कविता त त्यो हो, जसले पाठकलाई सोच्न विवश पार्दछ । अलिकता पागल नभई कहाँ कवि बनिन्छ ? 

बिसुले पागल हुन सजिलो छैन भने तापनि कवि हुनुका नाताले उनी स–सानो पागलै हुन् । बन्न असजिलै सही, कवि सनकी हुन्छ । उसमा सनक आउँछ, तब न बादलसँग प्रीति गाँस्न पुग्छ । 

ऊ पागल बनिदिन्छ, तब न माटोलाई सुनमा परिणत गरिदिन्छ । कवि कमलो हुन्छ । कविमनमा अत्यधिक संवेदनशीलता, गहिरो सौन्दर्यचेत र असीम करुणा हुन्छ । 

अनि अन्याय, अन्धविश्वास र उत्पीडनविरुद्ध विद्रोही भावनासमेत जाग्रत हुने हुँदा उसलाई अलिकता पागल नबनी सुक्ख पनि छैन । 

मनको संगीतलाई शब्दमा व्यक्त गर्ने निरन्तर अभ्याससँगै बिसुभित्रको कवि बाहिरसम्म देखिन थाल्यो होला । 

‘म कवि हुनका लागि कविता लेख्दिनँ’ भने तापनि बिसु अब स्थापित कवि भइसके । बिसुका कविता पढ्नेको संख्या कति छ, थाहा छैन । परन्तु उनी एउटा कवि हुन् भनेर थाहा पाउनेको संख्या भने बृहदाकार भइसकेको छ । 

परिवारबाट पनि कविलाई मनग्गे साथ र सहयोग प्राप्त भइरहेको बुझिन्छ । 

‘जुन दिन मानिस अरूको पीडालाई आफ्नै सम्झेर रुन सक्छ, त्यही दिन नै ऊ साँचो मानव बन्दछ’ भन्ने महाकविको दर्शनलाई बिसुले आफ्ना शब्दशब्दमा उतारेका छन् । 

बिसुमा कल्पना, संवेदना र सौन्दर्यबोधको प्राचुर्य छ । कतै विद्रोही, कतै राष्ट्रप्रेमी त कतै प्रेमासक्त छन् उनी । बिसु कतै हलुका भएर उडिदिन्छन् खुला गगनमा त कतै भने धागो छिनेको चङ्गाझैँ दिशाहीन लाग्छन् । 

लेख्छन्, “कुनै सामान किनेर फिर्ता आएको चानचुन पैसा जस्तो जिन्दगी ।” कविलाई त विरहले पनि सुन्दर बनाउँदो रहेछ । 

पुस्तकका पाना पल्टाएर हेरेँ । न कुनै प्रकाशकीय मन्तव्य, न लेखकीय र न त कुनै विवेचना । कुनै तामझामको भारी नबोकी एक्लै उदाएका बिसु कृति लोकार्पणको समयमा भने सकल परिवारसहितको विशाल जनसमूहभित्र किञ्चित सङ्कोच र लज्जाभावमा देखा परे । 

अलिकता राजनीतिक रङ्गढङ्गसमेत मिसिएको विमोचन समारोह बडो समावेशी थियो । त्यो समावेशिता मलाई मन पर्‍यो । कविताको कोमलतालाई सुमसुम्याएर कतै कठोर राजनीति पनि सुकोमल बन्दै जाने हो कि ? एउटा अभरको दिलासा । 

कवि न हुन्, बिसु परिश्रमी मजदुरको मनलाई पनि नियालेर हेर्छन् । लेख्छन्– 

लुगा सिउने सुचीकारलाई 
जिन्दगी धागो लाग्दो रैछ
फलाम पोल्ने कर्मी दाइलाई 
जिन्दगी आगो लाग्दो रैछ
योजनाले मात्र चल्दो रहेनछ 
योजक पनि चाहिँदो रैछ  

यो जगत्मा जोकोही बिक्रीमा छ । कोही विद्या, कोही रूप, कोही यौवन र कोही बलको आधारमा बिक्छ, यहाँ । 

बिसु लेख्छन्–

बेच्नुपर्छ आफूलाई कुनै न कुनै रीतमा
रूपमा होस् कि सीपमा 
बेच्नुपर्छ आफूलाई
बलमा होस् कि बुद्धिमा

लेख्दै जाँदा उनी एक ठाउँमा पुगेर भावनाको उत्कर्षमा पुग्छन् । कविहृदय पनि यसरी च्याँठिएको देखेर म कताकता भयभीत भएको थिएँ– 

अगुल्टो ओकल्नुपर्छ 
चेतनालाई च्यात्नुपर्छ 
जिउँदै मुर्दा बन्नुपर्छ 
मुर्दा जसरी जिउनुपर्छ
अरे यार ! 
पागल हुन कहाँ सजिलो छ र ?

महादेवी बर्माको शब्दमा ‘कविता हृदयको मौन वेदनाको वाणी हो ।’ 
कवि बिसु यो पुस्तकभरि नै व्यथित छन् । उनको हृदयभित्रको सम्पूर्ण वेदना र विद्रोह सधैँ मौन बनेर बस्न सकेन । उनले त्यही वेदनामय मौनलाई वाणीमा उतार्दै जाँदा नै यो सुन्दर संग्र्रहको निर्माण हुन सकेको हो । 

बिसुको कवित्वको सर्वाङ्गीण पक्ष थाहा पाउन त पूरा पुस्तक नै अध्ययन गर्नुपर्छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  ०५:५२
प्रतिक्रिया दिनुहोस्