(४० को दशक प्रारम्भदेखि नै तत्कालीन चर्चित साप्ताहिक पत्रिकाहरूमा उषा शेरचनका मुक्तक प्रकाशनमा आउन थाले । प्रत्येक साताजसो आउने उनका मुक्तकले पाठकलाई आकर्षित गर्दै आएका थिए । तर, उनको पहिलो मुक्तककृति ‘अक्षरहरूको शिविरबाट’ २०५६ सालमा मात्र प्रकाशित भयो । किताब छाप्न हतार नगर्ने साहित्यकार शेरचनको पहिलो कविताकृति ‘नजन्मेका आस्थाहरू’ २०४८ सालमै प्रकाशित भएको हो । त्यसपछि कविताकृति, कथाकृति र उपन्यास पाठकमाझ ल्याइसकेकी शेरचनको दोस्रो मुक्तककृति ‘त्रासदीका हिमनदी’ (२०८२) भने पहिलो कृति छापिएको २५ वर्षपछि मात्रै प्रकाशित भएको छ । प्रस्तुत छ कवि–साहित्यकार शेरचनसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश ।)
तपाईंको मुक्तककृति ‘त्रासदीका हिमनदी’ केही समयअघि प्रकाशित भएको छ । २५ वर्षपछि मुक्तककृति प्रकाशनमा ल्याउनुभयो नि !
हो, २५ वर्षपछि नै दोस्रो मुक्तकसंग्रह आएको छ । पहिलो मुक्तकसंग्रह २०५६ सालमा आएको थियो । अबचाहिँ मुक्तक लेख्दिनँ भनेकी छु ।
कृतिमा यो २५ वर्षको लामो ‘ग्याप’ किन ?
खासमा पुस्तक निकाल्न कहिल्यै हतार गरिनँ मैले । प्रकाशित गर्नुपर्छ भनेर हतार नगर्नु पनि पुस्तक ढिलो आउनुको कारण हो । फेरि, म अरू केहीमा विश्वास गर्दिनँ । तर, नियतिमा विश्वास गर्छु । जन्म र मृत्युजस्तै जीवित होस् वा निर्जीव, कुनै पनि चिजको जन्म हुनु त्यो निर्धारित हुन्छ । जुन दिन निर्धारित हुन्छ, त्यही दिन त्यो जन्मिन्छ पनि । त्यसकारण यो पनि त्यस्तै भयो । यसलाई मिठै संयोग भन्नुपर्छ, आफ्नै मुक्तककृतिको रजत जयन्तीमा अर्को मुक्तकसंग्रहलाई जन्म दिन पाउनु पनि संयोग नै त हो । यो पनि नियतिकै कुरा हो ।
तपाईंले मुक्तक लेख्न थालेकै ५० वर्ष हुन लाग्यो । एकताका ‘साप्ताहिक विमर्श’मा तपार्इंका मुक्तक प्रकाशित हुन्थे । त्यतिबेला मेरो पनि एउटा मुक्तककृति निस्किन्छ भन्ने लाग्दैनथ्यो ?
आजभन्दा ७० वर्षअघिको समाजमा जानुपर्छ । यो समाज अहिले त यति संकीर्ण छ भने त्यतिबेलाको समाज र महिलाको स्थिति कस्तो थियो होला ? त्यो बुझ्नुपर्छ । अहिलेको जस्तो सहज ऊबेला थिएन । हाम्रो परिवारमा दिदीहरूको पुस्ता भर्खरभर्खर स्कुल जान थालेका थिए । त्यसपछि हामीले पनि पढ्न थाल्यौँ । हामीले कपुरी ‘क’ माटोमा लेखेका थियौँ । अहिलेको मोबाइल, ल्यापटप, टेलिभिजन हाम्रो कल्पनाभन्दा बाहिरको कुरा थियो । हामी आवाको जमानाको मान्छे । अहिले हामी नै टचस्क्रिन मोबाइल चलाउँछौँ । त्यो खालको समय भोगेर आजको अवस्थामा आइपुगिएको छ ।
त्यतिबेला हामीले त्यस्तो कुनै सपना देखेको नै होइन । कलेजमा कुन विषय लिएर पढ्नुपर्छ भन्ने पनि थाहा थिएन भने किताब छाप्ने कुरा त धेरै टाढाको विषय थियो । तथापि, हामीले आफ्नो मार्ग आफैँ निर्माण गरेका हौँ । म मूलतः कवि हुँ । पहिले त कविता नै लेखेकी हुँ । पछि ‘टिकटमा मुक्तक’ कार्यक्रम सुरु भएपछि मात्र मैले मुक्तक लेख्न थालेकी हुँ । फेरि, मलाई एउटै मुक्तक कार्यक्रममा बारम्बार सुनाइरहन झिँझो लाग्ने भएकाले सधैँ नयाँनयाँ मुक्तक लेख्दै गएँ । त्यसैले मुक्तक जम्मा हुँदै गए । यसरी धेरै पछि गएर मेरो मुक्तककृति प्रकाशित भएको हो ।
तर, त्यसअघि नै कविताको कृति आयो र ?
मेरो पहिलो कविताकृति ‘नजन्मिएका आस्थाहरू’ तत्कालीन प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो, २०४८ सालमा । त्यसको पनि एउटा कहानी छ । संगीत अन्वेषक रामशरण दर्नाल दाइ अनुज पुस्तालाई एकदम माया गर्ने व्यक्ति हुनुहुन्थ्यो । त्यसबखत अग्रजहरूले मलाई खुब माया गर्नु हुन्थ्यो । सन् १९९० मा म पहिलोचोटि अमेरिका जाँदै थिएँ । त्यसैबेला दर्नाल दाइले मसँग ‘कविताको पाण्डुलिपि छाडेर जानुस् बहिनी’ भन्नुभएको थियो । मैले पनि कविताहरू टाइप गराएर पाण्डुलिपि दाइलाई जिम्मा लगाएर गएँ । त्यो किताब म अमेरिका हुँदा नै छापिएको रहेछ, मलाई थाहै भएन । पछि उताबाट फर्किएपछि मात्र आफ्नो किताब हात पारेको थिएँ । त्यसपछि मात्रै दोस्रो कृतिका रूपमा मेरो मुक्तकसंग्रह आएको थियो ।
त्यसउप्रान्त मेरो दोस्रो कविताकृति ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ प्रकाशनमा आएको थियो ।
त्यसपछि कथाकृति पनि प्रकाशनमा आयो ?
मैले कलेज (पृथ्वीनारायण क्याम्पस) पढ्दादेखि नै कथा लेख्न थालेकी थिएँ । एक समय ‘मोदीबेनी’ पत्रिका छापिन्थ्यो । निकै स्तरीय पत्रिका थियो त्यो । त्यसमा मेरा केही कथा छापिए । अझ भनूँ, कविता र कथा समान रूपमा लेखिरहेकी थिएँ ।
हातमै किताबकापी बोकेर क्याम्पस जाने चलन थियो । आजको जस्तो झोला बोक्ने चलन थिएन । यसरी हातहातबाटै मेरो कथाको एउटा पाण्डुलिपि हरायो । त्यसपछि मैले कथा लेख्नै बन्द गरेँ । त्यसबखत मलाई कथा लेखनबाट मोह हराएर गयो । अनि कविता र मुक्तक मात्रै लेख्दै गएँ ।
यद्यपि, मभित्रका पात्र त जीवितै थिए । तिनले मलाई कथा लेख्नका लागि घचघच्याइरहे । पात्रहरूले मलाई यति लखेटे कि मैले कथा नलेखी धरै पाइनँ । भ्याएसम्म मैले कथा लेखनलाई वास्ता नगरेरै हिँडेकी हुँ ।
पछि एउटा कथा लेखेँ, जुन २०६० सालमा ‘गरिमा’मा छापियो । त्यसपछि अन्य पत्रपत्रिकामा पनि कथा छापिन थाले । अनि मात्र मेरो कथाकृति ‘तेस्रो रङ्ग’ (२०७०) प्रकाशनमा आयो ।
तपाईं अलि फरक खालका कथा लेख्नुहुन्छ । त्यो समयमा पनि पृथक् सोचका कथाको बुनोट कसरी गर्नुभयो ?
हामीले बाँच्ने जीवन र जगत् एउटै हो । त्यसलाई साहित्यकारले झनै गहिरोसँग बुझ्छ । जस्तो कि, राजनीतिमा मलाई पटक्कै रुचि छैन । तर, असल प्रतिपक्षको भूमिकामा हामी आफैं हुन्छाैँ । मलाई लाग्छ, अक्षरको खेती गर्ने सर्जक सधैँ प्रतिपक्षको भूमिकामा हुनुपर्छ । वास्तवमा नेताहरूमा अलिकति मात्रै बोध गर्ने क्षमता भए कवि–साहित्यकारहरूले लेखेका कुरा पढेर यो समाज के कस्तो रहेछ, समाजको सोच र तिनले के चाहन्छन् भन्ने बुझ्ने थिए । विडम्बना ! तिनीहरू पढ्नै चाहँदैनन् ।
खासमा लेख्नका लागि हामीलाई सामाजका विविध विषयले छोइरहेको हुन्छ । जतिसुकै समानताका कुरा गरे पनि महिला–पुरुषमा विभेद अझै पनि देखिन्छ । अहिले प्रतिशतको हिसाबमा कम होला । तर बाहुल्य त पुरुषसत्ताकै छ ।
त्यस्तैत्यस्तै घटना–परिघटनाले दिमागमा प्लट बन्दै जान्छ । हाम्रो अवचेतन मनमा कतिपय कुरा गडेर बसेका हुन्छन् र यस विषयमाथि केही लेख्छु भन्ने आफूलाई लागिरहेको पनि हुन्छ । त्यहीँ हुन्छ, मूल पात्र ।
यसरी मूल पात्रलाई मनमस्तिष्कमा बसाएर लेख्न बसेपछि सहायक पात्र आफैं आउन थाल्छन्, कथामा । मैले भन्न चाहेका भावना र अभिव्यक्ति पात्रले पोख्दै जान्छन् ।
मेरा कथामा तपाईंले पात्रको नाम भेट्नुहुन्न । मलाई लाग्छ, हामीले कसैलाई पनि नाम दिनु हुँदैन ।
मैले नियतिको कुरा गरेँ । कथा लेख्ने क्रममा मैले बोक्सीको, देउकीको र छापामारको कथा पनि लेखेकी थिएँ । तर, यी तीनवटै पाण्डुलिपि कता हराए कता ! लेखिसकेका कथा कतै फेला परेनन् । फेरि, त्यही मुड र त्यही परिवेशमा कथा कसरी लेख्न सकिन्छ र ? त्यो त गर्भपतन भएझैँ भयो । त्यसैले मैले ती कथा फेरि लेखिनँ । छापामारको कथा मेरो नजरमा राम्रो कथा बनेको थियो । तर, नियति नै त्यस्तै भयो । लेखिएर पनि पाठकमाझ आउन सकेन ।
छापामारको कथा लेख्न खुबै मिहिनेत गर्नुभएको थियो होला ?
कथा लेख्न गाह्रो छ, भाइ । मैले धेरै रिसर्च गरेर त्यो कथा लेखेकी थिएँ । तर, त्यो नजन्मिनु रहेछ । त्यस्तै कथा लेख्नुपर्छ भन्ने मेरो दिमागमा रहेन र मैले लेखिनँ पनि । त्यसपछि कोरोना कहर सुरु भयो । एक वर्ष म घरबाहिरै निस्किनँ । त्यही कोरोनाकालमा मेरो दिमागमा भएका २१ वटा कथाका पात्रलाई लेखनका माध्यमबाट मुक्त गरिदिएँ । यसरी कथाकृति ‘बेग्लै म’ प्रकाशित भयो ।
त्यसपछि नै मैले कथा लेख्दिनँ भन्ने सोचेँ । किनभने, अहिले कथामा नयाँनयाँ भाइबहिनीहरू आइरहनुभएको छ । जसरी सत्तामा रहेकाले एउटा उमेरपछि छोड्नुपर्छ भनिन्छ, साहित्यमा पनि नयाँ आउने सर्जकलाई ‘स्पेस’ दिनुपर्छ भन्ने मलाई लाग्छ ।
अब के लेख्दै हुनुहुन्छ ?
मैले अघि पनि भनेँ, म किताब छाप्न हतार गर्दिनँ । तथापि, मनमस्तिष्कमा रहेका भावनालाई कागजमा उतार्नुपर्छ भन्ने लागिरहेको छ । अहिले एउटा गीत र कवितासंग्रह पूर्ण रूपमा तयार छ । त्यसपछि केही संस्मरण पनि लेख्ने विचार बनाएकी छु ।
मनमा रहेका पात्रहरूलाई त कथाका माध्यमबाट बाहिर ल्याउनुभयो । तर, ‘आधि’ उपन्यास कसरी आयो ?
मैले लेख्छु नै भनेर लेखेको उपन्यास हो, ‘आधि’ । यौनहिंसामा केन्द्रित यो उपन्यास लेख्न मैले झन्डै तीन वर्ष लगाएँ । त्यसका लागि धेरै अनुसन्धान पनि गरेँ । यो वास्तविकतामा आधारित उपन्यास हो ।
फेरि ‘त्रासदीका हिमनदी’तिर जाऔं । पूरै मुक्तक लेखिसकेपछि मात्रै यो कृति प्रकाशनमा ल्याउनुभयो कि बीचदेखि नै तयार गर्दै जानुभयो ?
खासमा, मैले दुईवटा मुक्तकसंग्रह निकाल्छु भन्ने सोचेकी थिएँ । जीवन र जगत्सम्बन्धी मुक्तक लेख्छु भनेरै लेख्दै जाँदा १३४ वटा मुक्तक पुर्याएँ । अरू पनि थप्छु भन्ने सोच्दै लेख्दै गइरहेकी थिएँ । तर, यसपटक मुक्तक छान्न समय लाग्यो । मुक्तक कुनै कता छापियो, कुनै कता । केही फेसबुकमा पोस्ट भए । पहिलेपहिले एउटा डायरी वा कापीमा हातले नै लेखिन्थ्यो र त्यो एकै ठाउँमा रहन्थ्यो । तर, यसपटक भने ठाउँठाउँबाट खोजेर जुटाउनै कठिन भयो । कति त भेटिएन पनि । ती मुक्तक नियतिकै सिकार भए । पछि लेख्दै थप्दै गएर ‘त्रासदीका हिमनदी’मा चार सय ५९ वटा मुक्तकलाई एकै ठाउँमा राखेँ ।
आजका कविहरूलाई कसरी हेर्नुहुन्छ ?
अहिलेका कविहरू एकदम सचेत छन् । भोलिको कवि पुस्तामा पूर्ण विश्वास गर्न सकिन्छ । तर, कविले साधना गर्नैपर्छ, एकदुई कविता मात्रै लेखेर हुँदैन । लेखन भनेको साधना हो ।