मैले सुखनगर होइन, शिखरकोट जान खोज्या । लामो घना जंगलको बाटो एक्लै कसरी जानु ! साथी कोही थिएन ।
केही समयपछि पाँच जना आए । लाग्यो, गफ गर्ने मान्छे भए ।
फेरि २६ जना थपिए । लाग्यो, अब स्यालले आँट गर्न नसक्ने भयो ।
अनि एक सय ५२ जना मिसिए । लाग्यो, अब त बाघ पनि हच्किन्छ ।
फेरि सात सय तीन जना आए । लाग्यो, लौ, अब डाँकाको पनि केही लाग्दैन ।
अनि फेरि २३ सय १५ जना थपिए । लाग्यो, अब त कोही जुध्न आँट गर्न सक्दैन ।
थपिएका मान्छेमध्ये केहीबीच पुरानो इबी रहेछ, त्यो बल्झियो । कुटाकुट नै हुन थालिहाल्यो ।
कसैले भन्यो, “आपसमा झगडा गर्न हुन्न ! तिमीहरू दुवैले आआफ्ना कुरा भन, हामी सुन्छौँ । अनि बहुमतले जे भन्छ त्यो तिमीहरूले मान्नुपर्छ । मन्जुर छ ?”
असहमतिको स्वर सुनिएन ।
फेरि अर्को कसैले भन्यो, “अब हामी हाम्रो गन्तव्यमाथि पनि छलफल गरौँ । र, बहुमतका आधारमा निर्णय गरौँ ।”
यस सवालमा पनि असहमतिमा हात उठेन ।
केही भिल्लगाउँ जाने पक्षमा देखिए । मध्यपुर जाने पनि धेरै रहेछन् । तर, बहुमत सुखनगरलाई गन्तव्य बनाउनेकै पक्षमा देखियो ।
शिखरकोट जाने त फेरि पनि म एक्लो भएँ ।
कोही सहानुभूतिशील देखिए । भने, “तिमी भन्छौ भने हामी तिमीसँग शिखरकोट गइदिउँला ।”
स्पिड/करेन्ट मिल्छ ? मैले स–धन्यवाद बिदा दिएँ ।
म फेरि सहयात्रीको प्रतीक्षामा छु ।
लौ न, म शिखरकोट नै जाने सहयात्रीको प्रतीक्षामा छु ।