site stats
बाह्रखरी :: Baahrakhari
खेल
सेमिफाइनलमा मलेसियासँग खेल्दै नेपाल

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज  मलेसियासँग खेल्दै छ ।

खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।

समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
 
नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङकङलाई ११९ रनको फराकिलो अन्तरले हराएको थियो ।

चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । 

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । 

यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदै छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्