काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो ।
लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । त्यसयताका तीन खेलमा भने लुम्बिनीले कर्णाली याक्सविरुद्ध नौ विकट, काठमाण्डू गोर्खाजसँग २२ रन र सुदूरपश्चिम रोयल्ससँग सात विकेटको हार व्यहोरेको थियो ।
पोखराको भने चौथो खेलमा यो तेस्रो हार हो । पोखराले पहिलो र दोस्रोमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग क्रमशः ५३ र १८ रनको हार व्यहोरेको थियो । पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकालेको थियो ।
शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४० रन बनाए । उनले ३६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । २२–२ को स्थितिबाट रोहितले निरोसाहन डिकवेलासँग ५४ रनको साझेदारी गर्दै लुम्बिनीको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । निरोसानले २२ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन थपे ।
लुम्बिनीले २२ रनमै दुई विकेट गुमाउँदा ओपनरद्वय डी‘एर्सी शर्टले सात र सुमित महर्जनले ‘डक’ भए । सन्दीप जोरा २२ बलमा दुई चौका र एक छक्कासहित २५ रनमा अविजित रहे । गुलबदिन नैबले ११ बलमा दुई छक्कासहित १७ रनको योगदान गरे ।
पोखराका विपीन खत्री, म्याट टेलर र सागर ढकालले दुई/दुई विकेट लिए । जिम्मी निसमको नाममा एक विकेट रह्यो ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो ।
पोखराले सुरुआत राम्रो गरेन । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो र दोस्रो विकेटका रूपमा कप्तान कुशल भुर्तेललाई गुमाएको थियो ।
त्यसपछि आएका सुमित बर्माले खाता खोल्न सकेनन् । तिर्तराज दासले पनि जम्मा एक रन बनाए ।
सातौँ ब्याटरका रूपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौँ विकेटका निम्ति ९२ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए । निशमले ५१ रन जोडे । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे ।
लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए । गुलबदिन नाइबले एक विकेट लिए ।