काठमाडौं । सुदूरपश्चिम रोयल्सका अविनाश बोहोराले आफ्नो टोलीले राम्रो खेलेर प्लेअफमा पुग्दा धेरै खुसी लागेको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा घरेलु खेलाडीको प्रदर्शन राम्रो हुनुपर्ने पहिलेदेखि नै आफ्नो धारणा रहेको उनले उल्लेख गरे । शनिबार (मंसिर १३) सोहीअनुरूप ब्याटिङ हुँदा खुसी लागेको उनले बताए ।
उनले अब बाँकी खेलमा अझ ध्यान दिएर खेल्ने सुनाए । टोलीले दिएको भूमिकाअनुरूप प्रदर्शन गर्न सकेकामा उनले खुसी व्यक्त गरे ।
लगातार चौथो हारपछि जनकपुर बोल्ट्सका ब्याटिङ प्रशिक्षक अनिल मण्डलले राम्रो गर्न नसकिएको बताए । यो खेलमा १०/१५ रन कम भएको उनले उल्लेख गरे ।
उनले प्रतियोगिताबाट आफूहरू अझै ‘आउट’ नभएको बताए । बाँकी खेलमा जित निकाल्ने लक्ष्य रहेको उनले सुनाए ।
उनले चोटका कारण नियमित कप्तान अनिल साहलाई आराम दिइएको बताए । न्युज एजेन्सी नेपाल