site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएलमा विराटनगर किंग्समा आबद्ध डू प्लेसिसले आईपीएल नखेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्समा आबद्ध दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणको लिलामीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

डू प्लेसिसले यस सम्बन्धमा जारी गरेको आफ्नो स्टेटमेन्टमा १४ सिजन आईपीएल खेलेपछि यो वर्षको लिलामीमा आफ्नो नाम नराख्ने निर्णयमा पुगेको जनाएका छन् । भारतबाट आफूले मित्रता, सम्झना, पाठ (लेसन) र एक क्रिकेटर तथा एक व्यक्तिको रूपमा आकार पाएको उनले उल्लेख गरेका छन् ।

उनले आफूले यो वर्ष नयाँ र चुनौतीपूर्ण निर्णय लिएको उल्लेख गर्दै पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल) को आगामी सिजनमा खेल्ने जनाएका छन् । उनले आफू पाकिस्तानको आतिथ्यताको प्रतिक्षामा रहेको पनि उल्लेख गरेका छ्न् ।

बीबीसीका अनुसार डू प्लेसिसले सन् २०१२ मा चेन्नई सुपर किंग्सको तर्फबाट आईपीएलमा डेब्यू गरेका थिए । आफ्नो पहिलो सिजनमा उनले ३९८ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए ।

दक्षिण अफ्रिकाबाट उनले ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस क्रममा उनले २३ शतक र ६६ अर्धशतक प्रहार गरेका छन् ।

faf-statment1-1764474294.jpg
 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्