काठमाडौं । देशमा आज र भोलि (मंसिर १४–१५) बादल लाग्ने सम्भावना छ । तर, पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, नेपालमा यति बेला दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव छ । यसकै प्रभावले बादल लाग्ने महाशाखाले जनाएको छ ।
“हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव रहेको छ,” महाशाखाले भनेको छ, “आज र भोलि बादल लाग्ने सम्भावना छ, तर पानी पर्ने सम्भावना भने छैन ।”
दित्वा आँधीका कारण श्रीलंकामा जनधनको ठूलो क्षति भएको छ ।
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले उक्त आँधीको बाहिरी तहको बादल तीन हजार किलोमिटर टाढा रहेको नेपालको हिमालय क्षेत्रसम्म आइपुगेको जनाएका छन् ।
“अहिले काठमाडौंलगायत देशको धेरै स्थानमा लागेको हल्का बादल यसैको परिणाम हो । यद्यपि, वर्षाको कुनै सम्भावना भने देखिन्न,” उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
तर, कञ्चनजंघा, सगरमाथालगायत पूर्वी उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पर्सि (मंसिर १६)सम्म रहने उनले उल्लेख गरेका छन् ।
महाशाखाका अनुसार, आइतबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो दोस्रो कम तापक्रम हो । यही मंसिर १० गते काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री थियो । सोही समयमा शनिबार (मंसिर १३) काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री थियो । शुक्रबार (मंसिर १२) ६.५ डिग्री थियो ।