site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल : आज विश्राम, भोलि दुई खेल

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज विश्राम दिइएको छ । भोलि (मंगलबार) भने दुई खेल हुनेछन् । 

त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । 

चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ ।

दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल ‘गर या मर’को अवस्थामा छ ।

मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स दश अंक जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्