site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्रकसहित नदीमा खसेका चालकको उद्धार
प्रतीकात्मक तस्बिर ।

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

सिमेन्ट बोकेर भैरहवादेखि दरबाङतर्फ जाँदै गरेको ग२ख ०८४० नम्बरको ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट सोमबार (मंसिर १५) बिहान करिब २ः३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८, मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा नदीमा खसेका थिए ।

प्रहरीको १३ जनाको टोलीले नदीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चाको उद्धार गरेको हो । प्रदेश अस्पताल बेनीमा उनको उपचार भइरहेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार, चालकको अवस्था खतरामुक्त छ । नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । ट्रकमा ३४० बोरा सिमेन्ट थियो । केही बोरा नदीमा खसेको र भीरमा अड्किएको प्रहरीले जनाएको छ ।

फापरखेतको पहिरोले बर्खायाममा मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक दैनिकजसो अवरुद्ध र अरू समयमा दुर्घटनाको जोखिम बनाएको छ । उक्त ठाउँमा गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक सडकबाट खसेको थियो । रासस

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्