site stats
बाह्रखरी :: Baahrakhari
देश
अस्ट्रेलियामा स्नातकोत्तर अध्ययन गर्न १९ नेपाली विद्यार्थीलाई ‘अस्ट्रेलिया अवार्ड्स’

काठमाडौं । अस्ट्रेलियामा स्नातकोत्तर अध्ययन गर्न १९ नेपाली विद्यार्थीले अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान गरिएको छ । 

नेपालका लागि अस्ट्रेलियाली राजदूत लियन जोन्सटन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले ती विद्यार्थीलाई अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान गरेका हुन् । 

अवार्ड प्राप्त गरेको १९ नेपाली विद्यार्थीले सन् २०२६ मा अस्ट्रेलियाका विश्वस्तरीय विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्ने बताइएको छ । 

अध्ययन गर्न अस्ट्रेलिया जाने १९ जनामध्ये १३ जना सार्वजनिक सेवा क्षेत्रका, ११ जना महिला र २ जना अपांगता भएका व्यक्ति रहेका छन् ।

शिक्षासचिव पौडेलले अस्ट्रेलिया अवार्ड्स प्राप्तकर्तालाई बधाई दिँदै नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेकमा अस्ट्रेलियाली सरकारलाई धन्यवाद दिए । 

“तपाईंहरूले अस्ट्रेलियामा प्राप्त गर्ने ज्ञान, र बनाउने विश्वव्यापी सम्पर्क र सञ्जालले तपाईंको व्यावसायिक जीवनलाई आकार त दिने नै छ, साथै सार्थक ढंगले नेपालको सेवा गर्ने क्षमता पनि दिनेछ । नेपाल सरकार देशको प्रगतिमा मानवीय पुँजीले खेल्ने महत्त्पूर्ण भूमिकाको कदर गर्छ,” सचिव पौडेलले भने ।

राजदूत जोन्स्टनले विद्यार्थीलाई आफ्नो अवसरको अधिकतम उपयोग गर्न, बहुसांस्कृतिक अस्ट्रेलियाको विविधता र समृद्धि अनुभव गर्न र अस्ट्रेलियाली जनता तथा संस्थाहरूसँग बलियो सम्बन्ध निर्माण गर्न प्रोत्साहित गरे । 

“अस्ट्रेलिया अवार्ड्स कार्यक्रमले हाम्रा दुई देशबीचको सबल सहकार्य र समावेशीकरण, शिक्षा तथा नेतृत्वप्रतिको हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्बित गर्छ । यस वर्षको छनौटमा पर्नुभएका विद्यार्थीको विविधता र यसले प्रतिनिधित्व गर्ने दृष्टिकोणप्रति गर्व गर्छौं,” राजदूत जोन्सटनले भनिन् । 

 अस्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको अर्को चरणको आवेदन सन् २०२६ फेब्रुअरीमा खुल्ने बताइएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्