site stats
बाह्रखरी :: Baahrakhari
देश
कुलो निर्माण गर्दा भ्रष्टाचार, आठजनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढासहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले कुलो निर्माण गर्दा १९ लाख ४८ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, तत्कालीन सव–इन्जिनियरहरू अमर शाही र अनिलकुमार विष्ट, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष दलबहादुर विश्वकर्मा, सिँचाइ कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव कासी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्मा रहेका छन् । 

नरहरिनाथ गाउँपालिका वडा नं.७ स्थित ओख्रेनी ओडीखोला सिँचाइ कुलो निर्माण गर्ने क्रममा कामै नगरी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले कुलो निर्माण गर्दा सम्झौता मुताविक ९३० मिटर लम्बाइको पक्की कुलो निर्माण गर्नुपर्नेमा ३५४ मिटर लम्बाइको मात्र कुलो निर्माण गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्झौताभन्दा कम लम्बाइको कुलो निर्माण गर्दा उनीहरूले १९ लाख ४८ हजार ४८८ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग जनही १९ लाख ४८ हजार ४८८ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरिएको छ । 

 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्