site stats
बाह्रखरी :: Baahrakhari
खेल
मलान र अर्जुनको अर्धशतकप्रेरित चितवनले जनकपुरलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । ओपनरद्वय डेविड मलान र अर्जुन साउदको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा साबिक विजेता जनकपुर बोल्ट्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार (मंसिर १६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको हो ।

चितवनका ओपनर मलानले सर्वाधिक ८० रन जोडे । उनले ५४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । मलान र अर्जुनले पहिलो विकेटका निम्ति १३.४ ओभरमा ११२ रनको शतकीय साझेदारी गर्दै चितवनलाई बलियो सुरुआत दिलाएका थिए ।

अर्धशतकीय इनिङ खेलेका अर्जुनले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रन बनाए ।

कप्तान कुशल मल्ले १२ बलमा २८ रन थपे । सैफ जैब सात र रवि बोपारा तीन रनमा पभेलियन फर्किए ।

जनकपुरका माज सदाकत, कप्तान अनिलकुमार साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले समान एक विकेट लिए । 

प्लेअफ सम्भावना जीवित राख्न जनकपुर जितको दबाबमा छ । जनकपुर लगातार चार खेल हारेर पुछारमा छ । जनकपुर यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।

चितवनले चारमध्ये दुई खेल जितेको छ । चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्