काठमाडौं । इन्डोनेसिया र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ ।
मंगलबार नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा आफ्नो पहिलो रोजाई सार्वजनिक गरेका हुन् ।
टिममा एञ्जिला पहिलो रोजाइमा परेकी छन् । यसअघि इन्डोनेसियाविरुद्धको खेलमा एञ्जिलाको स्थानमा अञ्जना राना मगर पहिलो रोजाइमा परेकी थिइन् ।
दिपा शाही र मिना देउवालाई मौका दिइएको छ । इन्डोनेसियाविरुद्धको खेलमा सुरुआती–११ मा रहेका अनिता बस्नेत र रश्मी कुमारी भुजेल पहिलो रोजाइमा छैनन् ।
नेपालको मैत्रीपूर्ण फुटबलको यो अन्तिम खेल समेत हो । नेपालले पहिलो खेलमा इन्डोनेसियासँग २–१ को हार व्यहोरेको थियो ।
यस्तो छ सुरुआती–११ : एञ्जिलातुम्बापो सुब्बा, बिमला बिके, दिपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाइ, मिना देउवा, प्रिती राई, पुजा राना, रेखा पौडेल, रेनुका नगरकोटे, समिक्षा घिमिरे