site stats
बाह्रखरी :: Baahrakhari
देश
१४ करोड लुट प्रकरण– क्यासिनोकै लतले उजाडिएका रन्जित र दावाले छुट्टाछुट्टै समूह लिएर पुगेका थिए हायात

काठमाडौं । हायात होटलको क्यासिनो लुटपाटमा संलग्न दुई जनामाथि प्रहरीले छुट्टाछुट्टै कसुरमा मुद्दा चलाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेका काठमाडौं बौद्धका ४२ वर्षीय सेठ्ठी भनिने दावा शेर्पा र काठमाडौं बुढानीलकण्ठका २९ वर्षीय रने भनिने रन्जित खड्गीमाथि चोरी डाँका, आपराधिक उपद्रव कसुरमा मुद्दा चलाएको हो ।

परिसरको विशेष टोलीले उनीहरुलाई शुक्रबार राति पक्राउ गरेको थियो ।  उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट प्रहरीले सात दिनको अनुमति पाएको परिसरका एसपी पवन भट्टराईले जनाकारी दिए ।

उनीहरुले भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा बौद्धस्थित पाँचतारे होटल हायात रिजन्सीभित्रको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रिएसन सेन्टर’ क्यासिनो लुटपाट गरेका थिए । प्रहरीका अनुसार दुई समूहले क्यासिनो तोडफोड र लुटपाट गरेका थिए । 

क्यासिनो सञ्चालकले आपराधिक समूहले क्यासिनोमा रहेको १४ करोड रुपैयाँ लुटेको र ४० करोड बराबरको क्षति भएको जनाएको छ । क्यासिनो सञ्चालकले प्रहरीमा जाहेरी समेत दिइसकेको छ । प्रहरीले क्यासिनोको सीसीटीभीका आधारमा आपराधिक समूहमाथि अनुसन्धान थालिरहेको छ । 

सीसीटीभीमै देखिएको फुटेजका आधारमा प्रहरीले शेर्पा र खड्गीलाई पक्राउ गरेको हो ।  क्यासिनो लुटपाटमा संलग्नहरु अधिकांशको पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ ।  क्यासिनो लुटपाटमा अधिकांश आपराधिक पृष्ठभूमिका युवाहरु र क्यासिनोमै जुवा खेल्नेहरु नै देखिएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सीसीटीभीमा देखिएका अधिकांस युवाहरु काभ्रेका छन् ।  उनीहरु विभिन्न आपराधिक समूहमासमेत यसअघि पक्राउ परेकाहरु देखिएको प्रहरीले जनाएको छ ।  हायातको क्यासिनो प्राइड २०७२ असोजदेखि सञ्चालनमा छ । 

क्यासिनो नेपाली व्यवसायी विनायक शाह र भारतीय तरुण खट्टरले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले क्यासिनोसहित होटलसमेत तोडफोड गरेका थिए । फुटेजमा देखिएअनुसार सुरुमा क्यासिनो तोडफोड गर्नेसमूहमध्ये एक जना युवा खुकुरीसहित प्रवेश गरेको भिडियोमा देखिन्छ ।

पहिलो समूहले क्यासिनोभित्र प्रवेश गरेर तोडफोड गरेका थिए । एक समूहले क्यासिनो तोडफोडपछि अर्को समूह आएको भिडियोमा देखिन्छ ।

ग्रुपसहित आएको अर्को समूहले पनि तोडफोड गरेको प्रारम्भिक अनुसन्धानबाट पनि देखिन्छ । पक्राउ परेका दावा शेर्पा दोस्रो समूहका आएको समूहका नाइके हुन् । खड्गी भने सुरुवात देखिनै क्यासिनो प्रवेश गरेको प्रहरीको दाबी छ ।

टेबल चलाउँथे शेर्पा, प्रवेश पाउँदैन थिए खड्गी

प्रहरीले हाल पक्राउ गरेका दुवैजना क्यासिनोका जुवाडे हुन् । नेपालीलाई कानुनी रुपमा क्यासिनो प्रवेशमा निषेध गरिएको छ । तर, उनीहरु क्यासिनो सञ्चालहरुसितको मिलेमतोमा निर्वाध रुपमा प्रवेश गर्ने गर्थे । प्रहरी अधिकारीका अनुसार पक्राउ परेका शेर्पा आफैँ पनि हायातको क्यासिनोका ‘पोकड’ टेबल समेत चलाउने गर्थे । 

क्यासिनो लुटपाट हुँदा पनि सञ्चालकले नै बोलाएर आफू क्यासिनो जोगाउन गएको बयान प्रहरीलाई दिएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने,‘‘शेर्पा आफू सञ्चालकले नै बोलाएर गएको हुँ भन्ने बयान दिएका छन् । तर, उनको क्रियाकलापले क्यासिनो जोगाउने भूमिका देखिँदैन ।’’

प्रहरीका अनुसार उनी लामो समय होटल सोल्टीस्थित क्यासिनो माजोङमा जाने गर्थे ।  माजोङका सञ्चालकसित उनको विवाद बढेपछि त्यहाँबाट निकालिएका थिए । यसरी नै पक्राउ परेका बुढानीलकण्ठका २९ वर्षीय युवा रन्जित खड्गी लामो समयदेखि क्यासिनो प्रवेश गर्न थालेका थिए ।

पुर्ख्यौली सम्पत्तिमा रमाएका खड्गीले क्यासिनोमै करोडौँ रुपैयाँ गुमाएका उनलाई चिन्ने युवाहरु बताउँछन् । बुढानीलकण्ठ–१२ का खड्गीलाई पछिल्लो समय हायात होटलको क्यासिनो प्रवेशमा भने रोक लगाइएको थियो । 
सोही झोँकमा उनी प्रदर्शनका नाममा लुटपाट गर्न गएको प्रहरीले जनाएको छ ।

एक प्रहरी अधिकारीले भने, ‘‘खड्गीलाई हायातको क्यासिनो प्रवेशमा रोक लगाइएको रहेछ । पहिला क्यासिनो गएर खेल्ने उनी रोक लगाइएछि आक्रोशित रहेछन् । त्यही कारण मौका यही हो भनेर लुटपाटमा उत्रिएको देखिन्छ ।’’

प्रहरीका अनुसार उनीहरु पछिल्लो समय ठूलो आर्थिक संकटमासमेत रहेको खुलेको छ ।  प्रहरीको क्रिमिलन रेकर्ड सिस्टम (सीआरएस) मा पक्राउ परेका खड्गीविरुद्ध विभिन्न समयमा गरेर पाँचवटा मुद्दा चलेको खुलेको छ । जसमा तीनवटा जुवा मुद्दा तथा बैंकिङ कसुर र सार्वजनिक मुद्दा चलेको देखिएको छ ।

प्रहरीको रेकर्डअनुसार पछिल्लो समय २०७८ असोज ४ गते बौद्ध प्रहरीले खड्गीमाथि जुवा मुद्दा चलाएको थियो ।  त्यसको तीन महिनाअघि असारमा पनि उनीबिरुद्ध बौद्धमै जुवा मुद्दा चलेको खुलेको छ ।  २०७६ पुसमा खड्गीविरुद्ध प्रहरी वृत्त मालिगाउँमा बैंकिङ कसुरको मुद्दा चलेको थियो ।

उक्त मुद्दामा उनी हालसम्म पनि प्रहरीको फरार सूचीमा रहेको देखिएको छ ।  यसरी नै खड्गीलाई प्रहरीले २०७५ वैशाखमा जुवा मुद्दा र २०७३ वैशाखमा सार्वजनिक अपराधमा मुद्दा चलाएको फेला परेको हो ।  बैंकिङ्ग कसुरबाहेक सबै मुद्दा उनीविरुद्ध बौद्ध प्रहरीले चलाएको खुलेको हो । 

अर्का आरोपी दावा शेर्पाकोसमेत विगतको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्