site stats
बाह्रखरी :: Baahrakhari
देश
काममै बाधा पुग्ने गरी किन दुख्छ ढाड ?

लामो समयसम्म कुर्सीमा बसेर काम गर्नेहरु ढाड तथा कम्मरको समस्या लिएर अस्पताल पुगेका हुन्छन् । विशेषगरी, बैंकर, चार्टड अकाउन्टेन्ट, सफ्टवेयर इन्जिनियर, दाँतका डाक्टरजस्ता पेशामा भएकाहरुमा यस्तो समस्या देखिने गरेको पाइन्छ । कम उमेरका युवाहरुमा समेत कतिपयमा हड्डी खिइएको समेत पाइएको छ । 

यस्ता समस्या हुनेहरुलाई कुर्सीमा नबस्नुस् भन्न मिल्दैन । तर, बसाइको तरिका (पोस्चर) सुधार गर्नुपर्छ । बस्ने कुर्सी ठीक हुनुपर्छ भने बस्दा ढाड सोझो पारेर बस्नुपर्छ । मुन्टो पनि सकेसम्म ठाडो राख्नुपर्छ । हरेक आधा घण्टामा उठेर हिँडडुल गर्नुपर्छ । यसरी बीच–बीचमा उठेर हिँडडुल गर्दा तन्केर बसेको मांसपेसीले आराम पाउँछ ।

अफिसमा काम गर्नेमात्र नभई निहुरेर काम गर्ने गृहिणीहरुमा पनि ढाड–कम्मर दुख्ने समस्या हुन्छ । यसैगरी, मोटोपन भएकाहरुलाई पनि ढाड दुख्ने समस्या हुन्छ । यस्तो अवस्थामा नियमित व्यायाम गर्नुपर्ने हुन्छ । मोटोपन भएकाहरुले फिजिकल थेरापीमात्र नभई बिहान बेलुकी नियमित हिड्ने गर्नुपर्छ । अनि शरीर स्वस्थ राख्न सकिन्छ ।

भिटामिन डी तथा भिटामिन बी १२ को कमीका कारण पनि ढाड–कम्मर दुख्छ । यसका साथै, महिनावारी सुकेका महिलामा पनि ढाड दुख्ने समस्या हुन्छ । यस्तो समस्याको उपचार विभिन्न तरिकाबाट गरिन्छ ।

निरन्तर बस्दा किन दुख्छ ढाड ? 

मेरुदन्डको एउटा हड्डीदेखि अर्को हड्डीबीचमा कुरकुरे हड्डी (डेस्क) हुन्छ । माथिबाट मोटो नसा आएको हुन्छ, जसलाई स्पाइनल कर्ड भनिन्छ । हरेकमा माथिदेखि तलसम्मै नसाहरु आएका हुन्छन् र कुरकुरे हड्डी (डेक्स) निस्केर नसालाई असर गरिहेको हुन्छ । किनभने हामी बस्दा मेरुदण्डमा दबाब पर्न जान्छ, जसका कारण त्यो डिस्क बाहिर निस्केर नसालाई असर गर्छ र वरपरको मासु कडा भइदिन्छ । ढाडमा दबाब पर्दा कुरकुरे हड्डी र गर्धनमा दबाब पर्दा पाताको मासुमा दुख्छ । नसा पूरै थिचियो भने हातखुट्टा झमझम गर्छ । 

कस्तो अवस्थामा अस्पताल जाने ? 

काममै बाधा पुग्ने गरी दुख्यो भने अस्पताल आउनुपर्छ । केही व्यक्ति भने दुखेको एक–दुई दिनमै अस्पताल आउनुहुन्छ ।

ढाड तथा कम्मर दुखाइमा औषधिका साथै फिजियोथेरापीको पनि ठूलो भूमिका हुन्छ, जसमा मांसपेसीलाई मजबूत बनाइन्छ । लोअर ब्याक, स्पाइनको मांसपेसी मजबूत गराउने अभ्यास गराइन्छ । यस्ता अभ्यास सिकिसकेपछि कहिल्यै छाड्नुहुन्न । कार्यालयमै बसेर गर्न मिल्ने अभ्यास पनि हुन्छ । त्यसो गर्दा समय–समयमा बस्ने र उठ्ने गर्दा कम्मर तथा ढाडको दुखाइबाट बँच्न सकिन्छ । 

(डा. प्रवीण नेपाल नर्भिक अस्पतालमा सिनियर कन्सलटेन्ट अर्थोपेडिक सर्जनको रुपमा कार्यरत छन् )

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्