काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम काठमाण्डू गोर्खाजका ओपनर बेन चार्ल्सवर्थले पोखरा एभेन्जर्सविरुद्धको जित टिमको निम्ति महत्त्वपूर्ण रहेको बताएका छन् ।
बिहीबार काठमाण्डूले एपनीएलको दोस्रो संस्करणमा पोखरालाई १३ रनले पराजित गर्दै प्लेअफमा स्थान बनाएको थियो । यही समीकरणलाई जोड दिँदै चार्ल्सवर्र्थले पोखराविरुद्धको जित महत्त्वपूर्ण रहेको बताएका हुन् ।
“पोखराविरुद्धको जित निकै महत्त्वपूर्ण र आवश्यक थियो । हामीले जित हासिल गर्न निकै संघर्ष गर्नुपर्यो । अन्तिम समयसम्म पनि योगफल खडा गर्न कठिनाइ भइरहेको थियो,” बेनले भने ।
यो खेलसँगै काठमाण्डूले सात खेलमा पाँच जित र दुई हारसहित लिग चरण टुंग्गाएको छ । काठमाण्डूले लिग चरणमा कर्णाली याक्स र जनकपुर बोल्ट्सविरुद्ध समान पाँच विकेटको जित निकाल्दा चितवन राइनोजविरुद्ध ५३ रन र लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको थियो ।
त्यसैगरी, काठमाण्डूले विराटनगर किंग्सँग पाँच विकेट र सुदूरपश्चिम रोयल्ससँग २९ रनको हार व्यहोरेको थियो । यसअघि प्रतियोगिताको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।